११ वैशाख, काठमाडौँ । वीर अस्पतालमा अपरेसनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार नौ शøयासहितको सर्जिकल आइसियु कक्ष उद्घाटन गर्नुभएको छ । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्री पौडेलको नीतिअन्तर्गत वीरमा आइसियु कक्ष थप गरिएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताउनुभयो ।
उहाँका अनुसार अब अपरेसन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेसनका लागि एआइसियु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआइसियु कक्षमा १४ बेड उपलब्ध छन् । जसमा अपरेसनका लागि तथा अपरेसनपछिका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ तर बेग्लै सर्जिकल आइसियु कक्षले त्यो समस्या हटाएर आइसियुको क्षमता बढाएको छ । कक्ष उद्घाटन गर्दै मन्त्री पौडेलले अस्पतालको उपचार क्षमता बढाउने र सुविधा थप गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
वैशाखमा सेवा थप्ने तालिकाअन्तर्गत नै वीरको आइसियुु कक्ष उद्घाटन गरिएको र अन्य संघीय अस्पतालमा यस महिनाभर सेवा थपको क्रम जारी रहने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसअघि नै तालिका सार्वजनिक गरेका छौं, यसअनुसार देशैभरका संघीय अस्पतालमा सेवा थप्ने क्रम वैशाखमा चल्नेछ ।’
+ There are no comments
Add yours