१० वैशाख, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’ को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट ९१५ फिट मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ ।
‘हामीले सडकको डिजाइनअनुसार नै सडकको बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको हो,’ आयोजनाका इन्जिनियर विष्णु खनालले भने । उनका अनुसार यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मंगलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि बिनानिष्कर्ष टुंगिएको छ ।
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो । इन्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब १ कि.मी. सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ । पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने खनालको भनाइ छ । अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको उनले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल १ किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ ।
पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल सडकखण्ड अन्र्तगत नासिकास्थानमा २, भैँसीपाटीमा ३, जनागालमा २, बुडोलमा १ र २८ किलोमा १ गरी ९ वटा घर–टहरा हटाउनुपर्नेछ ।
यस्तै बिजुलीको पोल सार्ने काम ७० प्रतिशत तथा एक ठाउँमा हाइटेन्सनको पोल सार्नुपर्ने काम बाँकी रहेको छ । आयोजनाले पछिल्लोपटक गत चैत २७ गते एक सार्वजनिक सूचनामार्फत विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको मापदण्डभित्र पर्ने घर–टहरा तथा अन्य संरचना भत्काइदिन अनुरोध गरेको छ । यसअघि २८ किलो, बुडोल, बनेपा र पुलबजार क्षेत्रमा भने स्थानीयको पटकपटकको अवरोधले घर–टहरा हटाउनुपर्ने लगायतका विविध समस्या देखिएको थियो ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब ८ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । वि.सं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किमी लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी २ खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल २ खण्डको विस्तारको काम ४५ प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो ।
आयोजनाको सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारी निर्धारित समयभित्र विस्तारको काम नसकिने भएकाले केही महिना समय थप्नुपर्ने बताए । उनका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रुख, बिजुलीका पोल तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।
उक्त आयोजना अन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामा दूरीका सवारी मात्र दैनिक १ हजार ५०० भन्दा बढी छुट्ने गरेका छन् ।
+ There are no comments
Add yours