एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी

१० वैशाख, काठमाण्डौँ । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सुचिकृत भएको हो ।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सुचिकृत गरिएको हो ।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सुचिकृत गराएको हो ।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ ।

डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले दुवै सेवाका लागि छुट्टाछुट्टै सुचिकरण गराएको छ । सुचिकरणसँगै एनसेलले नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ ।

‘हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सुचिकरणको प्रक्रिया सहज भएको हो । सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं । डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, सुचिकरण अत्यन्त महत्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ । यो सुचिकरणका लागि हामी सूचना प्रविधि विभाग प्रति धेरै आभारी छौँ,’ एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours