शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा

०८ बैशाख, काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलन चुलिँदै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर मन्त्री भट्टराईले आफ्नो राजीनामा पत्र बुझाएकी हुन् । उनकाे सचिवालयका अनुसार स्वास्थ्य समस्याका कारण उनले पदबाट राजीनामा दिएकी हुन् ।

तर, चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौँमा जारी आन्दोलनले शिक्षा मन्त्रालयमाथि चर्को दबाब सिर्जना गरिरहेको थियो ।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित शिक्षकहरू माईतीघर मण्डलादेखि विभिन्न सरकारी निकायसम्म दबाबमूलक कार्यक्रम गरिरहेका छन्।

सरकार र आन्दोलनरत शिक्षकबीच भएको वार्ताबाट ठोस सहमति ननिस्कँदा असन्तुष्ट शिक्षकहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। यस्तै समयमा मन्त्री भट्टराईले पदत्याग गरेकी हुन्, जसलाई शिक्षक आन्दोलनसँग पनि जोडेर हेरिएको छ।

यसबीच, शिक्षा मन्त्रालयका उच्च स्रोतका अनुसार मन्त्री भट्टराईको राजीनामाले ऐन निर्माण प्रक्रिया र आन्दोलन व्यवस्थापनमा तत्काल प्रभाव पार्न सक्नेछ । अब मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा सरोकारवालाहरूको ध्यान केन्द्रित भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours