अंकित मूल्य १ सयभन्दा तल आईपीओ जारी गर्न दिनुपर्छ : रविन्द्र भट्टराई

०३ वैशाख, काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले कम्पनीहरुलाई अंकित मूल्य १ सयभन्दा कममै आईपीओ जारी गर्न दिनुपर्ने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डले अंकित मूल्य १ सयभन्दा कममा आईपीओ जारी गर्न नदिने तयारी गरिरहेका बेला भट्टराईले यस्तो धारणा राखेका हुन् ।

आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको छलफल कार्यक्रममा उनले अंकित मूल्य घटाएर, जारी हुने सेयर संख्या बढाउन सकिने बताए । ‘अंकित मूल्य १ रुपैयाँ हुनेगरी पनि आईपीओ जारी गर्न सकिन्छ, सेयर संख्या बढाएपछि आवश्यक पूँजी त्यति नै जुटिहाल्छ’ भट्टराईले भने ।

त्यस्तै महँगा कम्पनीलाई बेलाबेलामा ‘स्टक स्प्लिट’ गरेर पहुँच बढाउन सकिने उनले बताए । महँगा कम्पनीले थप सेयर जारी गरेर सोअनुसार मूल्य घटाउनु नै स्टक स्प्लिट हो ।

त्यस्तै कम्पनीहरुलाई वार्षिक मात्रै नभई त्रैमासिक रुपमा लाभांश वितरण गर्न दिन सकिने उनले बताए । अन्य विकसित मुलुकमा कम्पनीहरुले मासिक नै नगद लाभांश दिने गरेको स्मरण गर्दै उनले भने ‘यहाँ कम्तीमा त्रैमासिक रुपमा लाभांश दिन सक्ने व्यवस्था गर्न सकिन्छ, हाइड्रोपावर लगायत कतिपय सेक्टरका कम्पनीको आम्दानी निश्चित नै छ ।’

सरकारी स्वामित्वको नेपाल स्टक एक्स्चेन्जले पूँजी बजारमा विकसित प्रविधि तथा क्षमताको विस्तार गर्न नसकेकै कारण निजी क्षेत्रको स्टक एक्स्चेन्ज जरुरत रहेको उनले बताए ।

‘विश्वका अधिकांश मुलुकमा स्टक एक्स्चेन्ज सरकारी स्वामित्वमा हुँदैनन्’ उनले भने ‘यहाँ सरकारी स्वामित्वमा हुँदा अध्यक्षसहित बोर्डमा सरकारी नियुक्ति हुन्छ, यसले स्वतन्त्र रुपमा निर्णय गर्न सक्दैन ।’

अन्य मुलुकमा संस्थागत लगानीकर्ताले बजारलाई ‘ड्राइभ’ गर्ने गरे पनि नेपालमा संस्थागत लगानीकर्ताको संख्या र भएका संस्थको पनि क्षमता कमजोर रहेको उनले बताए ।

त्यस्तै सूचकमै पनि कारोबार गर्न सक्ने व्यवस्था जरुरत रहेको उनले बताए । ‘एकपटक नेप्से ३० इन्डेक्स चलाउने तयारी पनि भयो, तर त्यत्तिकै सेलायो’ उनले भने ।

विभिन्न सामाजिक सञ्जालबाट निश्चित कम्पनी तोकेर खरिद वा बिक्री गर्न सुझाव दिने गतिविधि गलत रहेको उनले स्पष्ट पारे । ‘क्यानडा लगायत अन्य मुलुकमा पनि कसैले कुनै कम्पनी सुझाव दिएर हानी नोक्सानी पर्न गएमा त्यसको क्षतिपूर्ति भराउनेसहित कारबाही हुने गर्छ’ उनले भने ‘कुनै कम्पनी खरिद, बिक्री गर्नेगरी कसैले सुझाव नै दिँदैन ।’

‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन

यसैबीच भट्टराईले लेखेको ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ । लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरे ।

सो पुस्तक काम नगरी अर्थात् लगानी गरेरै पैसा कमाउने विषयमा केन्द्रित छ । ३०२ पृष्ठको सो पुस्तकको मूल्य ४९९ रुपैयाँ तोकिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours