‘एक्लो’ फिल्मका निर्देशक शाही ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा

०३ वैशाख, काठमाडौं । नेपाली फिल्म ‘एक्लो’का निर्देशक प्रदीप शाही विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा चयन भएका छन् । यसवर्षको कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४ सम्म फ्रान्सको कान्समा आयोजना हुँदैछ ।

शाही निर्देशित उक्त फिल्म विज्ञान कथामा आधारित छ जसले नेपाली हिमालको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिकाको कथामा पेश गर्छ । यसमा नेटफ्ल्क्सि स्टार जेमी बेकनले पनि अभिनय गरेका छन् ।

बेकन यो फिल्मका सहनिर्माता पनि हुन् । अहिले पोस्ट-प्रोडक्सन चरणमा रहेको यो फिल्मले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ ।

‘कान्स प्रोड्यूसर्स नेटवर्कमा भाग लिन पाउनु मेरो लागि ठूलो सम्मान हो’ शाही भन्छन्, ‘यो केवल एउटा फिल्म प्रस्तुत गर्ने कुरा होइन, यो नेपाललाई विश्वसामु चिनाउने प्रयास पनि हो ।’ ‘एक्लो’मार्फत आफूले नेपालमै बसेर पनि विश्वस्तरको सिनेमा निर्माण सम्भव छ भन्ने कुरा देखाउन खोजेको उनले बताए ।

शाहीले यसअघि ‘१९१५ : लिजेन्ड अफ द गुर्खा’ र ‘अन्तिम संस्कार’ फिल्म निर्देशन गरेका छन् । पछिल्लो फिल्म ‘एक्लो’को नेपालको प्रदर्शन मिति तय भैसकेको छैन ।

कान्सको अफिसियल वेबसाइटअनुसार १३-२१ मेसम्म हुने कान्स मार्केटमा १५ हजार व्यवसायिक फिल्मकर्मी, ४ हजार फिल्म र प्रोजेक्ट, २५० फिल्म इभेन्ट आयोजना हुने र १४० मुलुकले सहभागी हुने जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours