०२ वैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल देशका विभिन्न भागहरूमा आएको हावाहुरी र प्रि–मनसुनका कारण केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुँदा लोडसेडिङ सुरु भएको भनी फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै यस्तो अस्थायी अवरोधलाई लोडसेडिङको रूपमा अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोप्रति आपत्ति जनाउँदै आफू सधैं ग्राहकहरूलाई नियमित, गुणस्तरीय र भरपर्दो सेवा दिन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जित प्रतिकूल मौसमले केही समय विद्युत् सेवा अवरुद्ध हुँदा सामाजिक सञ्जालमा लोडसेडिङ सुरु भएको भन्ने भ्रामक र अतिरञ्जित भनाइहरू व्यक्त भइरहेका छन्, जसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
प्राधिकरणका अनुसार मौसमजन्य कारणले विद्युत् आपूर्ति प्रभावित भए पनि देशभरका वितरण केन्द्रहरूबाट प्राविधिकहरू दिनरात खटिएर सेवा पुनः सुचारु गर्न कार्यरत छन् र अधिकांश स्थानमा विद्युत् आपूर्ति यथाशीघ्र पुनः सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, पोल ढल्ने, तार लत्रिनेजस्ता घटनाले विद्युतीय संरचनामा क्षति पुगेर जनधनको समेत जोखिम हुन सक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
+ There are no comments
Add yours