नयाँ वर्षको दिन पनि सडकमै
०१ बैशाख, काठमाडौँ । विभिन्न माग राखेर शिक्षक महासङ्घको ब्यानरमुनि शिक्षकहरू आन्दोलित छन्। चैत २० गतेयता काठमाडौंको माइतीघर-बानेश्वर क्षेत्रमा आन्दोलित शिक्षकहरूले यथाशीघ्र शिक्षा ऐनको माग गरेका छन्।
नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाकारी गराएका हुन् ।
आफ्ना मागहरू सरकारले बेवास्ता गर्न नहुने उनीहरूको अडान छ। सरकारको सुरुको आह्वानलाई लत्याएका शिक्षकहरू अहिले भने सरकारसँग वार्ता पनि गरिरहेका छन्। केही बुँदामा सहमतिसमेत भइसकेको छ तर, शिक्षकहरूले प्याकेजमै सहमति हुनुपर्ने, अझ शिक्षा ऐन नै जारी भइहाल्नुपर्ने माग गरेका छन्।
अहिलेका लागि उनीहरूले दुबैतिरको बाटो रोजेका छन्। सरकारसँग वार्ता र सडकमा आन्दोलन सँगसँगै अघि बढाएका छन्। प्रतिनिधि सिंहदरबारमा वार्तामा बसेका हुन्छन् त बाँकी माइतीघर-बानेश्वर सडक खण्ड छपक्कै ढाकेर बसेका हुन्छन्।
सोमबार (आज) आन्दोलनको १२औं दिन हो। तर, उनीहरू थाकेका छैनन्। उनीहरूलाई न झरीले रोकेको छ, न नयाँ वर्षले छेकेको छ। उनीहरूले रचनात्मक आन्दोलन गर्न खोजेका देखिन्छन्। आन्दोलनका क्रममा उनीहरूले नाराबाजीलाई भन्दा पनि नाचगान, सिटी फुक्नेदेखि जादुलाई सहारा बनाएका छन्।

सरकार भने शिक्षकहरूको मागप्रति त्यति उद्धार देखिँदैन। वार्ता त गरिरहेको छ। तर, शिक्षकहरूका सबै माग पूरा गर्न अटेर गरिरहेको छ। सरकारलाई शिक्षकहरूले आफ्ना लागि मात्रै माग गरेको विश्लेषण गरेको छ। यसअघि सरकारका प्रवक्ता पृथ्वीसुब्बाले नागरिकसँग भनेका थिए, ‘आफ्नो लागि मात्रै माग गरेर हुन्छ र ? खै शिक्षकहरूले मागमा सरकारी शिक्षा सुधारको माग ? आफ्नो लागि मात्रै बोलेर हुन्छ र ? खाए खा, नखाए घिच् भयो नि यो त।’
जे होस्, शिक्षकहरू गलेका देखिँदैनन्। आन्दोलनको १२औं दिन बित्दा पनि उनीहरू सडकमै छन्, आन्दोलित नै छन्। आज वर्ष २०८२ को पहिलो दिन हो तर, उनीहरूलाई आन्दोलनले छोडेको छैन। उनीहरू आज पनि सडकमै छन्।
यसअघि झरीमा पनि उनीहरू रोकिएका थिएनन्। छाता ओढेरै आन्दोलनमा निस्किएका थिए। सिटी फुक्दै सडकमा निस्किने उनीहरूले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। उनीहरू फोहोर गर्दैनन्। भएका फोहोर उठाएर साँझ बासस्थान फिर्छन्।
+ There are no comments
Add yours