‘राम’ ले गरे पशुपतिनाथको दर्शन

०१ बैशाख, काठमाडौँ । चर्चित हिन्दी धारावाहिक ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गरेर विश्वभर ख्याति कमाएका भारतीय अभिनेता अरुण गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

आइतबार पत्नी श्रीलेखा गोविलसहित नेपाल आएका गोविलले पशुपतिनाथ दर्शनपछि सामाजिक सञ्जालमा लेखेका छन्, “आज मलाई भगवान् पशुपतिनाथको पवित्र धाममा दर्शन गर्ने सौभाग्य प्राप्त भयो। महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्तिको अनुभूति भयो। हर हर महादेव ! जय श्री राम !”

उनले यो भ्रमणबाट आध्यात्मिक शान्ति प्राप्त भएको बताए। रामानन्द सागरको ‘रामायण’ (१९८७–१९८८) मा रामको भूमिकाले उनलाई घर–घरमा चिनाएको थियो।

यो धारावाहिकले भारत र विश्वभरका दर्शकमाझ उनलाई अमर पात्र बनायो। गोविलले ‘पहेली’, ‘सावन को आने दो’, ‘हिम्मतवाला’ र हालैको फिल्म ‘आर्टिकल ३७०’ मा अभिनय गरेका छन्। ‘आर्टिकल ३७०’ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका थिए।

उत्तर प्रदेशको मेरठबाट भारतीय जनता पार्टी (भाजपा) बाट लोकसभा सांसद रहेका गोविलले अभिनय र राजनीतिमा समानान्तर सक्रियता देखाएका छन्।

उनले ‘जागृति’, ‘लव कुश’ जस्ता धारावाहिक र थुप्रै टेलिभिजन विज्ञापनमा पनि काम गरेका छन्। उनको अभिनय करिअर चार दशकभन्दा लामो छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours