एक हप्ताभित्र सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने सरकारको चेतावनी, मेटाले गरेन वास्ता

३१ चैत, काठमाडौं । फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन्। फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ आएको छैन।

शुक्रबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तत्काल दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए।

सञ्चार मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो। त्यसो हुँदा सरकारले दिएको म्याद वैशाख ७ मा सकिदैंछ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ५ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि तोकिएका कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था छ।

अहिलेसम्म टिकटक, भाइबर र विटोक गरी तीनवटा सामाजिक सञ्जाल प्लेटफर्म मात्रै दर्ता भएका छन्। टिकटक र भाइबर विदेशी हुन् भने विटोक नेपाली प्लेटफर्म हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours