नेपाली राजदूतले भेटे बेलायती संसद्का सभामुखलाई, के भयो कुराकानी ?

३१ चैत, काठमाडौं । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्का सभामुख लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राजदूत घिमिरेले ब्रिटिस राजनीतिज्ञ तथा सुधारक जोन ब्राइटले भनेको ‘ब्रिटिस संसद् सबै संसदहरूको आमा हो’ भन्ने चर्चित भनाइलाई उदृत गर्दै बेलायती संसद्‍ले इतिहासमा खेलेको भूमिकाको प्रशंसा गरे ।

त्यसक्रममा उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सन्देश समेत सभामुख होयललाई सुनाउँदै नेपालको संसदको समावेशी चरित्र, बेलायतसम्बन्धी नेपाली संसद्‍मा गठन गरिएको संसदीय समूहको लगायतबारेमा जानकारी गराए ।

त्यसक्रममा उनले बेलायतबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए । दुई देशबीच दुई शताब्दीदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै, उनले उच्चस्तरीय भ्रमण र आपसी आदानप्रदानको महत्त्वमा जोड दिए ।

उनले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरण, समृद्धिको आकांक्षा पूरा गर्न तथा २०२६ मा नेपालले न्यूनतम विकसित देशको सूचीबाट निस्किन लागेको अवस्थामा त्यसको उपलब्धि कायम राख्न बेलायती सरकारको निरन्तर र बृहत् सहयोगको आवश्यकता औंल्याए ।

राजदूत घिमिरेले गोर्खा सम्बन्धी बाँकी रहेका समस्याहरूसमेत बेलायततर्फबाट चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

सभामुख होयलले नेपाल र बेलायतबीचको ऐतिहासिक र विशेष सम्बन्धको प्रशंसा गर्दै भविष्यमा दुई देशका संसदीय समूहबीच सहकार्यको सम्भावनाबारे सकारात्मक धारणा राखेको बेलायतस्थित नेपाली दूतावासले वक्तव्य जारी गर्दै भनेको छ ।

उनले नेपालका आवश्यकता र प्राथमिकताका क्षेत्रमा बेलायतको सहयोग निरन्तर रहने भनाइ राखेको भनिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours