नयाँ वर्ष : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

३१चैत, चितवन । नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका छन् । लामो समययता पर्यटकको संख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको संख्या बढ्दै गएको छ ।

आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या बढ्दै गएको छ । यद्यपि वीरगन्जको कर्फ्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । यसका साथै सडकका कारण पनि प्रभाव देखिने उनले बताए ।

उनले भने, ‘विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन् ।’ विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो । त्यस्तो अवस्था भने यस वर्ष नआउने उनको भनाइ छ । माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो ।

संघका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताए । उनले भने, ‘मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन् ।’ यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उनको भनाइ छ ।

शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उनी बताउँछन् । संघका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार–शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउँछन् । उनले भने, ‘साँझसम्म सौराहाका सबै होटल भरिन्छन् ।’

सौराहामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उनले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताए । होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मंगलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताए ।

आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उनको भनाइ छ । पोल्यान्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन् । उनले भने, ‘नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन ।’ अरु बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उनको भनाइ छ ।

जंगल क्राउन होटल पनि केही दिनयता भरिएको छ । होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार २ महिनायता होटलमा पर्यटकको संख्या राम्रो छ । शनिबारबाट सबै कोठा भरिएका छन् । अब सिजन भएकाले पर्यटकको संख्या बढ्दै जाने उनले बताए ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताए । उनका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको संख्या उल्लेख हुने अपेक्षा गरिएको छ ।

नेपाली नयाँ वर्ष भएकाले नेपाली पर्यटकलाई लक्षित गरी कार्यक्रम गरिएको नेपालले बताए । उनले भने ‘साँझ अबेरसम्म सौराहामा रमाएर फर्किने पर्यटक पनि हुन्छन् ।’

नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल, डुंगा सयर गर्ने गर्छन् । जंगल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीय स्थल हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours