सिड्नीमा एन्जाद्वारा पत्रकार महासंघकी अध्यक्ष शर्मा सम्मानित

३१ चैत, सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एन्जा) ले शुक्रबार सिड्नीमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रममा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, र अन्तरसंस्थागत सहकार्यका विषयमा छलफलसमेत भएको थियो ।

कार्यक्रममा अध्यक्ष शर्माले हालै राजावादीको नाममा अराजक समूहले पत्रकार सुरेज रजकको हत्या गर्नुका साथै सञ्चारमाध्यममाथि गरेको आगजनी र तोडफोडप्रति आपत्ति जनाउँदै प्रेसमाथिको कुनै पनि प्रकारको दमन क्षम्य नहुने बताएकी थिइन् ।

उनले नेपाल पत्रकार महासंघ हाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलनरत रहेको बताउँदै यस अभियानमा सम्पूर्ण सञ्चारकर्मी तथा संस्थाहरूलाई एक्यबद्धता जनाउन अपिल गरिन्।

अध्यक्ष शर्माले विदेशमा रहेर नेपाली पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूलाई प्रशंसा गरिन् ।

कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार करिवर राणा, र पत्रकार सचिन पोखरेललाई समेत सम्मान गरिएको थियो ।

एन्जाका अध्यक्ष कृष्ण तिवारी, संरक्षक हेमन्त काफ्ले, डा. संसेरसिंह थापा, र पत्रकार प्रदीप तिमिल्सिनालगायतले प्रवासमा रहेर पत्रकारिता गर्नु चुनौतीपूर्ण भए पनि नेपाली पत्रकारहरूको पेशाप्रतिको समर्पणले गर्दा मिडिया क्षेत्रमा सक्रियता कायम रहेको बताएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours