३० चैत्र, काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध २-० ले पछि परेको खेलमा ऐतिहासिक पुनरागमन गर्दै ५-२ को शानदार जित निकालेको छ। एतिहाद स्टेडियममा भएको खेलमा सिटीका कप्तान केभिन डे ब्रुइनले अद्भुत प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेले।
खेलको सुरुवातमा प्यालेस आक्रामक देखिएको थियो। आठौं मिनेटमा इबेरेची एजेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। त्यसको १३ मिनेटपछि रिचार्ड्सले कार्नरबाट गोल गर्दै स्कोर २–० बनाए। प्यालेसले तेस्रो गोल पनि गरेको थियो, तर एजेको गोल अफसाइडका कारण अस्वीकृत भयो। यही निर्णय खेलको मोड बन्यो।
३१ औं मिनेटमा डे ब्रुइनले उत्कृष्ट फ्रिकिक मार्फत एक गोल फर्काए भने तीन मिनेटमै मर्मुशले बराबरी गोल गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै कोभासिचले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि खेलमा सिटीको एकछत्र दबदबा रह्यो।
५४ औं मिनेटमा गोलकिपर एडरसनको चमत्कारीक पासबाट म्काटीले चौथो गोल गरे। एडरसनको यो सिजनको चौथो एसिस्ट हो। अन्तिमतिर ओ’रेलीले गोल गर्दै सिटीको जितलाई ५–२ मा परिणत गरे।
यो जितसँगै सिटी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।
+ There are no comments
Add yours