कर्णाली पुलको मर्मत सुरु

३० चैत, बबई (बर्दिया) । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ ।

बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनी प्रदेशबाट सुदूरपश्चिम प्रदेशतर्फ लाइटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो । कर्णाली नदीमा एउटा पिल्लर निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएपछि पुलमा जडान गरिएका तारमा समेत क्षति पुगेको थियो । पुलको तारमा जडान भएका १४ वटा स्टे केबुलमा क्षति पुगेको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

पुलमा भएको आगलागीको एक वर्षपछि पुल मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । पुलको मुख्य पिल्लर नै एउटा छ । त्यसमा जडान गरिएका स्टे केबुलमा समेत क्षति पुग्यो, जसले गर्दा समयमा सामग्री उपलब्ध हुन सकेन । चिनियाँ र अन्य देशका विज्ञसँंगको राय अनुसार पुल मर्मतको काम सुरु गरिएको दीपेन्द्र फुँयालले जानकारी दिनुभयो ।

पुल मर्मतका लागि विभिन्न किसिमका सामग्रीको आवश्यकता भएको र ती सामग्री नेपालमा समेत नपाइने भएकाले पुल मर्मतमा समय लागेको सडक डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । पुलमा आगलागी हँुदा १४ वटा स्टे केबुलमा क्षति पुगेको थियो । पुलको क्षति भएको भागलाई सफा गरेर त्यसमा भएको तारलाई खियामुक्त गर्ने र पुलको आयु कम हुन नदिने गरी इन्सुलेटर लगाउने गरी काम सुरु गरिएको समेत उहाँले बताउनुभयो ।

गत वर्षको फागुन २८ गते लाइटर बोकेर सुुदूरपश्चिम जाँदै गरेको ट्रक चिसापानी पुलको बिच भागमा पुगेपछि आगलागी भएको थियो । आगलागी भएपछि पुलमा क्षति भएको भन्दै केही दिन यातायातसमेत अवरुद्ध भएको थियो । पुल मर्मत गर्न करिब १० दिन लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

यो पुलले सुदूरपश्चिम क्षेत्रलाई नेपालका अन्य भागसँग जोड्न महìवपूर्ण भूमिका खेलेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको यो पुल निर्माणपश्चात् पूर्वपश्चिम राजमार्गको बाँकी खण्ड निर्माण भएको थियो भने चिसापानी गड्डाचौकीसम्मका २४ वटा पुल सञ्चालनमा आएपछि मात्र निर्माण सम्पन्न भएका थिए । यो पुल निर्माणअघि सुदूरपश्चिम जाने यातायातका साधनलाई कर्णाली नदीमा फेरीका सहायताबाट वारपार गर्ने गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours