अमेजनको जूक्सले लस एञ्जलसमा शुरु गर्यो रोबोट्याक्सी सेवा

२९ चैत्र, काठमाडौं । अमेजनको स्वामित्वमा रहेको स्वचालित सवारी साधन कम्पनी जूक्सले मंगलबारदेखि लस एञ्जलसको सडकमा केही परिमाणमा परीक्षण सवारीहरू परिचालन गर्न थालेको छ।

यो सानो भए पनि अर्थपूर्ण कदम भएको बुझिएको छ जसले कम्पनीलाई यसै वर्षको अन्त्यतिर लस भेगास र सान फ्रान्सिस्कोमा सार्वजनिक सवारी सेवा सुरु गर्न नजिक पुर्‍याउनेछ।

डाटा संकलन गर्ने यो प्रयास जूक्सको छैटौँ सहरमा प्रविष्टि हो, जसले भविष्यको रोबोट्याक्सी सेवाका लागि आधार तयार पार्नेछ। प्रतिस्पर्धी कम्पनी वेमोले पहिले नै लस एञ्जलसमा भाडामा रोबोट्याक्सी सेवा दिइरहेको भए पनि जूक्स अझै सुरुवाती चरणमै छ।

यो परिक्षण अन्तर्गत जूक्सले आफ्नै स्वचालित प्रविधि जडान गरिएका टोयोटा हाइल्याण्डर गाडीहरू मानव चालकद्वारा सडकमा चलाएर नक्शा सम्बन्धी डाटा संकलन गर्दैछ। ग्रीष्मकालसम्म व्यापक स्तरमा स्वचालित परीक्षण सुरु गर्ने योजना छ।

जूक्स हाल विभिन्न सहरहरूमा स्वचालित सवारी परीक्षण गर्दैछ — जसमध्ये हाइल्याण्डर परीक्षण सवारीहरू र स्टीयरिङ वा प्याडल नभएका विशेष रूपमा निर्माण गरिएका रोबोट्याक्सी दुवै समावेश छन्।

विशेष रूपमा डिजाइन गरिएका रोबोट्याक्सीहरू अहिले फोस्टर सिटी, सान फ्रान्सिस्को र लस भेगसका सार्वजनिक सडकहरूमा मानव चालकबिनै परीक्षण भइरहेको छ। केही समयअघि कम्पनीले आफ्ना कर्मचारी, पत्रकार र अन्य छनोट गरिएका व्यक्तिहरूलाई सेवा परीक्षण गर्न अनुमति दिएको थियो।

कम्पनीले अस्टिन, मायामी र सिएटलमा पनि मानव सुरक्षा चालकसहित हाइल्याण्डर गाडी प्रयोग गरेर परीक्षण गरिरहेको छ।

टेकक्रञ्चका अनुसार क्यालिफोर्नियामा भएको यो विस्तार जूक्सले आफ्नो स्वचालित सवारी प्रणालीमा देखिएको अचानक ब्रेक लाग्ने समस्याका कारण २५८ सवारीहरूमा गरिएको स्वयंसेवी सफ्टवेयर रिकलपछि आएको हो।

जूक्सको लस एञ्जलस प्रवेश वेमोद्वारा त्यही सहरमा सुरु गरिएको पूर्ण स्वचालित व्यावसायिक रोबोट्याक्सी सेवापछि आएको हो। हालसम्म बे एरिया, फिनिक्स, अस्टिनजस्ता अमेरिकी सहरहरूमा भाडामा रोबोट्याक्सी सेवा प्रदान गरिरहेको वेमो एक मात्र कम्पनी हो।

अल्फाबेट स्वामित्वको यो कम्पनीले आगामी दुई वर्षभित्र एटलान्टा, मायामी र वाशिङ्टन डीसीमा पनि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours