२७ चैत, कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरू गरेको खेलाडी अक्षयकोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ संकलन भएको छ ।
मञ्चले पोखरा म्याराथनको प्रवद्र्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरूवात भएको हो ।
अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवंगत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले बताए ।
उनका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा २ करोडको पुर्याउने योजना बनाएको छ । अध्यक्ष गुरूङले भने, ‘यो अक्षयकोष केवल रकम संकलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरू गरेको साप्ताहिक-मासिक दौड र पोखरा अन्तरराष्ट्रिय म्याराथनका लागि हो ।’
यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९ औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार ५११ रूपैयाँ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरूवालले आम्दानी ९३ लाख ७० हजार ६८९ तथा खर्च ८१ लाख ४१ हजार १७७ रूपैयाँ भएको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका ३–३ पटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका ३ वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।
यसैगरी २० औँ सस्कणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २० औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया सुरू गरेको जनाएको छ ।
+ There are no comments
Add yours