२६ चैत्र, काठमाडौँ । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त रहेको बालविवाह तथा छोरीलाई नपढाउने प्रचलन न्यूनीकरणका लागि पालिकाले प्रोत्साहन रकम दिन सुरु गरेको हो ।
आर्थिक वर्ष २०७९/८० देखि पालिकाले १२ कक्षा पास गरेर २० वर्ष पूरा गरी विवाह गर्ने छोरीलाई रु ५० हजार प्रोत्साहन रकम दिन सुरु गरेसँगै स्नातक अध्ययन गर्ने छोरीलाई क्याम्पस भर्ना गर्न रु ११ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।
पालिकाले सुरु गरेको उक्त अभियानले समाजमा बालविवाह न्यूनीकरण तथा छोरीको पठनपाठनमा सकारात्मक प्रभाव पारेको स्थानीय शिक्षक रामएकवाल महतोले बताउनुभयो । मधेसका आर्थिक अवस्था कमजोर भएका, अल्पसङ्ख्यक, पिछडिएको समाजमा अझै पनि छोरीलाई धेरै पढाउन हुन्न भन्ने मानसिकता रहेकाले सोको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
कक्षा ७-८ पढ्दापढ्दै विवाह गरेर पठाइदिने प्रचलनले समाजमा छोरीको शैक्षिकस्तर माथि उठ्न नसकेको शिक्षिका रमा सिंहले बताउनुभयो । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि पालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

गरिब तथा विपन्न समुदायमा चाहेर पनि पढाउन सक्ने अवस्था नहुँदा पालिकाले दिने प्रोत्साहन रकमले ठूलो राहत पुगेको स्नातक तहमा अध्ययनरत शोभा कुमारीले बताउनुभयो । ‘‘मैले कक्षा १२ पास गरेर २१ वर्षको उमेरमा विवाह गरेँ”, उहाँले भन्नुभयो, “विवाहको मण्डपमा पुगेर पालिकाका प्रतिनिधिले ५० हजारका प्रोत्साहन रकम दिनुभयो । परिवारको आयस्रोत नभएकाले मैले पढ्न सक्ने अवस्था थिएन । सोही रकमले अहिले स्नातक तह अध्ययन गरिरहेकी छु ।”
दुई दिदीमध्ये एक जना निरक्षर र एक जनाले कक्षा ७ सम्म पढ्नु भएकाले आफूले पढेर सक्षम नागरिक बन्ने सपना देखेको शोभाको भनाइ छ । “म अहिले पनि सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु”, उहाँले भन्नुभयो, “पढेर शिक्षक बन्ने र समाजमा ज्ञानको ज्योति फैलाउने चाहना छ ।” गाउँपालिकाले आफ्नो योजनामा सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
सबनमकुमारी चौधरी बहुमुखी क्याम्पस बयलबासमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहनुभएको छ । पालिकाले पठनपाठनलाई निरन्तरता दिन चाहने छोरीका लागि प्रोत्साहन योजना ल्याएपछि उच्च शिक्षा पढ्न सजिलो भएको उहाँले बताउनुभयो । “पठनपाठनको आर्थिक बोझ नहुने भएपछि परिवारले सहयोग गर्न थाल्नुभएको छ । क्याम्पस भर्ना गर्न लिएको ऋण पालिकाले दिएपछि परिवारलाई पनि सहज भएको छ”, उहाँले भन्नुभयो ।
चन्द्रनगर गाउँपालिका-३ निवासी पूजाकुमारी साहले पालिकाको सहयोगमा आफ्नो पढाइलाई निरन्तरता दिएको बताउनुभयो । बीस वर्षमा कक्षा १२ को परीक्षा दिएर विवाह गर्नुभएकी उहाँलाई गाउँपालिकाले रु ५० हजार प्रोत्साहन रकम दिएको थियो ।
उहाँ जस्तै चन्द्रनगर गाउँपालिकामा हालसम्म २० वर्ष पूरा गरी १२ कक्षा पढेर विवाह गरेका ७८ र स्नातक तह भर्ना गरेका दुई सय १० जना सम्मानित भइसक्नुभएको अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । यो सङ्ख्या बढ्दो क्रममा रहेको बताउँदै यस अभियानले बालविवाह गर्नेको सङ्ख्यामा ५० प्रतिशतसम्म कमी आएको उहाँले जानकारी दिनुभयो ।
चाहना भएर पनि उच्च शिक्षा पढ्न नपाउने छोरीहरूलाई यो अभियानले ठूलो सहयोग पु¥याएको अध्यक्ष महतोले विश्वास व्यक्त गर्नुभयो । “अहिले क्याम्पसमा हेर्ने हो भने उच्च शिक्षाका लागि भर्ना हुने छात्रभन्दा छात्रा धेरै हुनुहुन्छ”, उहाँले महतोले भन्नुभयो, “यो अभियान सञ्चालनपछि छात्राको उल्लेख्य सहभागिता भएको पाएका छौँ । यसलाई निरन्तरता दिँदै गएमा यो सङ्ख्या अझै बढ्ने विश्वास लिएका छौँ ।
अभियानपछि समाजमा छोरी पढाउनुपर्छ, बालविवाह गर्नुहुन्न भन्ने चेतनास्तर वृद्धि हुँदै गएको अध्यक्ष महतोले बताउनुभयो । “एउटी महिला शिक्षित हुनु भनेको पूरै परिवार शिक्षित हुनु हो । त्यसैले ‘छोरी पढाऊ, छोरी बचाऊ’ भन्ने नारालाई आत्मसात गर्दै कार्यकालको सुरुदेखि योजना लागू गरेका हौँ”, उहाँले भन्नुभयो ।
+ There are no comments
Add yours