२५ चैत, काठमाडौ । आज मिति २०८१ साल चैत २६ गते मंगलबार चैत्रशुक्ल कामदा एकादशी तिथी राती ११ / ३७ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी भएको हुनाले यो दिन युधिष्ठिर महाराजले श्रीकृष्ण भगवानलाई सोध्दै हुनुहुन्छ।
“वासुदेव नमस्तुभ्यं कथयस्व ममाsग्रत :/
चैत्रस्य शुक्लपक्षे तु किं नामैकादशी भवेत् “//
अर्थात् हे वासुदेव !तपाईंलाई नमस्कार छ। चैत्रशुक्लपक्षमा के नाउँको एकादशी हुन्छ ,त्यो मेरो सामु भन्नुहोस् ?त्यसपछि युधिष्ठिरलाई वसिष्ठ ऋषि र राजा दिलीपको संवाद श्रीकृष्णले बताउन थाल्नुहुनेछ।वसिष्ठ ऋषि भन्नुहुन्छ
“एकादशी पुण्यतमा पापेन्धनदवानल :/
शृणु राजन् कथामेतां पापघ्नीं पुत्रदायिनीम् “//
अर्थात् अत्यन्त पवित्र यो कामदा एकादशी त पापरुपी दाउराको भारीलाई सखाप पारेर डढाउने डढेलो नै हो।हे राजन् !पापलाई नाशगर्ने ,पुत्र नहुनेलाई पुत्र दिने यसको कथा सुन ? रत्नपुर नाम गरेको नगरमा घमण्डले चुर भएको पुण्डरीक नाग{पर्वते} रहन्थ्यो र यिनको राज्यमा गन्धर्व ,किन्नर र अप्सराहरुले भरिएको त्यस नगरमा राज्य गर्दथे।त्यस नगरमा अत्यन्त राम्री ललिता अप्सरा र त्यस्तै राम्रो ललित नामको गन्धर्व रहन्थ्यो। तिनीहरु प्रेम बासनाले गर्दा एक – आपसमा छुट्टा – छुट्टै बस्न सक्दैन थिए।कुनै समयमा पुण्डरीकआदि गन्धर्वहरु सभामा गाना -बजाना उत्सव गरिरहेको अवस्थामा ललित आफ्नी पत्नीबिना नै गीत गाइरहेको अवस्थामा उसले प्यारी पत्नीलाई सम्झेर गीतको ताल ,लय बिग्रियो।त्यसपछि कर्कोटकले ललितले गीतको लयमा ताल बिगारेकोकुरा पुण्डरीकलाई सुनाउँदा पुण्डरीकले पनि त्यसलाई श्राप दिए।
“राक्षसो भव दुर्बुद्धे क्रव्याद :पुरुषादक : “/
अर्थात् हे मूर्ख !तँ काँचो मासु र मान्छेको मासु खाने राक्षस भैजा भनेपछि त्यो त्यतिखेरै बडोडरलाग्दो राक्षस भएर जंगलमागइ काँचो मासु र मान्छेको मासुखाई बसेको बेलामा उस्की पत्नी ललिता पनि पतिको यस्तो अवस्था देखेर रुँदै – कराउँदै त्यहि जंगलमा आइ पतिलाई अंगालो मार्दै पतिको श्राप मुक्तकोलागि विन्ध्यपर्वतको टाकुरामा पुगेर त्यहाँ रहनुहनुने ऋष्शृङ्ग मुनिलाई प्रणामगरि बिन्तिगर्न थालिन्।हे मुनि!म विरधन्वा प्रसिद्ध गन्धर्व महत्माकी छोरी हुँ।मेरो पतिलाई श्राप परेकोछ ,कुन उपायले यो श्राप मुक्त हुनेछ भन्दा मुनि भन्नुहुन्छ हे सुन्दरी चैत्र महिनाको शुल्कपक्षको
“कामदैकादशी नाम्नी या कृता कामदा नृणाम् /
कुरुष्व तद्व्रतं भद्रे विधिपुर्वं मयोदितम् “//
अर्थात् कामदा नामको एकादशी आइरहेको छ ,जसको व्रत गर्नाले मनुष्यहरुको कामना अवश्य पूरा हुन्छ।हे कल्याणी !मैले वताएको विधिपूर्वक त्यो एकादशीको व्रतगर र त्यस व्रतको पुण्य आफ्नु पतिलाई दिएमा तिम्रो पतिको श्राप छुट्नेछ भनेपछि तिनी ललिताले पनि उही मुनिकै आश्रममा स्वपूजित वासुदेव भगवालाई चन्दन,सुगन्धि फूल ,तिल – तुलसीले पूजा – अर्चनागरी व्रत बसेर त्यो पुण्य आफ्नु पतिलाई दिएपछि पति ललितको पनि श्राप मुक्त भै ति दुवै विमानमा चढेर पहिलाको भन्दा पनि शोभित भएर रहदा भए।त्यसैले संसारका मनुष्यहरुले आफ्नु र अर्काको कल्याणकोलागि यो कामदा एकादशीको व्रत अवश्य बस्नुपर्दछ।यस व्रतको प्रभावले मनुष्यहरुको ब्रह्महत्यादी पाप ,पिशाचत्व र राक्षसत्व नाशभई त्रिलोकामा उसको इच्छासिद्धि प्राप्त हुनेछ।यसमा शंका छैन्।
“पठानाच्छ्रवणाद्वाsपि वाजपेयफलं लभेत् “/
अर्थात् यो व्रतको महात्म्य पढ़नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुन्छ। “लक्ष्मी नारायण भगवानको जय हो ३ “
पं-बालमुकुन्द देबकोटा
सदस्य- सनातन विद्वत्
परिषद् नेपाल
+ There are no comments
Add yours