राप्रपाको आन्दोलनमा सुरक्षा कडा : ड्रोन, क्यामेरा र २ हजार प्रहरी परिचालन

२५ चैत, काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ । राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आश्वयकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने ।सका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours