२४ चैत, काठमाडौं । शेरबहादुर खड्का स्मृत प्रतिष्ठानको आयोजनामा आठौ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वर्ष बैशाख दोस्रो साता हुने भएको छ ।
आयोजकले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख १० देखि १३ गतेसम्म हुने जानकारी दिएको हो ।
महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतिष्ठानले २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा साविक एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आमी क्लब, जावलाखेल भलिवल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विगतमा चार टिम सहभागी भएकोमा यसपटक ६ टिम पुर्याइएको प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । चार टिमको सहभागिता पक्का भईसकेको र एभरेष्ट भलिबल क्लबको सहभागिता पनि हुने विषयमा छलफल भएको खड्काले बताए ।
बाहिरबाट आउने टिमलाई खान बस्न सुविधा पनि दिने खड्काले बताए ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगिताका विजेता टोलीले नगद चार लाख ९९ हजार रुपैयां पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिवेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी आठौं संस्करण प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना उत्कृष्ट राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
पुरस्कार राशि १३ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिव ५० लाख रुपैयाँ रहेको प्रतिष्ठानका अध्यक्ष खड्काले जानकारी दिए ।
प्रतियोगितालाई बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ । आइतबारै मुख्य प्रायोजक केएनपीसँग सम्झौता गरिएको थियो । सम्झौतामा शेर बहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र कान्साई नेरोल्याक कम्पनीका कन्ट्री हेड मनोज कुमनर मिश्रले हस्ताक्षर गरे । सम्झौता रकम भने खुलाईएको छ ।
मिश्रले सिएसआर अन्तर्गत भलिबललाई प्रबर्धन गर्न यस प्रतियोगितामा सहयोग गरिरहेको बताए । उनले भविष्यमा पनि देशको खेलकुद विकासमा सहयोग गर्ने बताए ।
प्रतियोगितालाई विगतमा जस्तै यस पटक पनि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्परिट हाउसहरुको सहयोग रहने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघका अध्यक्ष तया काभाका उपाध्यक्ष जितेन्द्र बहादुर चन्दले यस प्रतियोगिता खेलाडीहरुले प्रतिक्षा गर्ने गरेको बताए । साथै उनले यसमा पुरस्कार राशी पनि राम्रो रहेकोले खेलाडीहरु आर्थिक रुपमा लाभान्वित हुने बताए ।
यस्तै फरक प्रसंगमा उनले भलिबल अब व्यावसायिक रुपमा अघि बढिरहेको र महिलाको फ्रेन्चाई लिग सुरु भईसकेको बताए । पुरुष भलिबलको फ्रेन्चाईज लिग केही ढिला भएको बताए ।
चन्दले सन् २०२५ नेपाली भलिबलका लागि ऐतिहासिक हुने बताए ।
+ There are no comments
Add yours