२४ चैत, काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।
नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले डढेलो नियन्त्रणमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।
मन्त्री शाहीले डढेलो नियन्त्रणमा सरकार पनि लागेर नहुने बताए । ‘वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ, सम्पूर्ण सरोकारवाला निकायहरू, नागरिक समाज, स्थानीय समुदाय, युवाहरूको भूमिका पनि महत्वपूर्ण छ,’ उनले भने ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रूपमा लिएर कार्यहरु गर्दै आएको बताए ।
‘डढेलो व्यवस्थापनमा राज्यका सम्पर्ण संयन्त्रहरु लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्यूनीकरण भएको छ’ उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरू विकल्पहरू छैनन् । हामीले विभिन्न विकल्पहरू खोजी गरिरहेका छौं ।’
मन्त्री शाहीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गरिरहेको बताए ।
उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
+ There are no comments
Add yours