२४ चैत्र, काठमाडौँ । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलन जारी छ। विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायतका माग अघि सार्दै देशभरका शिक्षकहरु आन्दोलित छन्। आन्दोलनमा सहभागी हुन देशभरबाट हजारौं शिक्षक काठमाडौंमा भेला भएका छन्।
चैत २० गतेदेखि जारी पछिल्लो आन्दोलनका क्रममा आज आइतबार सिट्ठी जुलुस प्रदर्शन गरिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सहभागी शिक्षकहरुलाई सिट्ठी लिएर ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेका छन् ।
सरकार वार्तामा बोलाउँछ, तर जाँदै जाँदैनन् – शिक्षकहरू सशंकित
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित ५ दिनदेखि आन्दोलनरत सरकारी विद्यालयका शिक्षक र कर्मचारी सरकारले वार्तामा बोलाउँदा समेत गएका छैनन् ।
नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारीले दैनिक माइतीघर–बानेश्वर सडकखण्डमा आन्दोलन जारी राखेका छन् । उनीहरूले शनिबार सडकमा सुतेर र नाचगान गरेर आन्दोलन गरेका थिए भने शुक्रबार गीत आएर आन्दोलन गरे । विद्यालय बन्द गरेर देशैभरका शिक्षक राजधानीमा आएका छन् । शिक्षकहरूले विद्यालय शिक्षा ऐन नलिई राजधानी नछाड्ने वाचा गरेका छन् ।
आन्दोलनका कारण भर्ना अभियान र एसईईको परीक्षाफल प्रकाशित गर्न गम्भीर असर पर्ने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले असार ७ गते एसईईको परीक्षाफल प्रकाशित गर्नेगरी तालिका सार्वजनिक गरिसकेको छ । आन्दोलनको कारण कार्यतालिका पछि सर्नसक्ने सम्भावना छ । महासंघले आन्दोलनमा अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेका कारण सबै शिक्षक राजधानी भेला भएका छन् ।
पहिलो दिन बुधबार १ देखि ४ बजेसम्म आन्दोलन भएको थियो । दोस्रो दिनदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उनीहरूले प्रदर्शन जारी राखेका छन् । आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई सरकारले वार्तामा आउन दोस्रो पटक आग्रह गर्दा ठाडै इन्कार गरेका छन् ।
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले वार्ता भन्दा पनि शिक्षा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान दोहो¥याएका छन् । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शुक्रबार दिउँसो सिंहदरबारमा बोलाएको बैठकमा सहभागी हुन महासंघले अस्वीकार गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पनि वार्तामा आउन आग्रह गर्नुभएको थियो ।
महासंघले ऐन जारी गर्नुबाहेक वार्ताको सबै ढोका बन्द भएको चेतावनी दिएको छ ।

आन्दोलन परिचालन समितिका संयोजक एवं महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले माग पूरा नभएसम्म राजधानीको सडक नछाड्ने चेतावनी दिनुभयो । पटकपटक छलफल र वार्ता गर्दासमेत सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा होमिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो आन्दोलनलाई कसैले रोक्न सक्दैन, अध्यादेश जारी गरेर ऐन ल्याएमा आफैँ रोकिनेछ ।’
उहाँले महासंघले प्रधानमन्त्रीलाई सम्बोधन गरेर शिक्षा मन्त्रालयमा पत्र पठाएको जानकारी दिनुभयो । सरकारले बोलाएको वार्तामा बस्न इन्कार गरेपछि सरकारले आन्दोलन फिर्ता गराउन विभिन्न तहको वार्ता जारी राखेको छ । पार्टी निकट शिक्षक संघ–संगठनलाई बोलाएर फकाउने प्रयास गर्दा पनि महासंघले इन्कार गरेको छ । सरकारले आउँदो संसदको बजेट अधिवेशनमा विधेयक पेश गर्ने तयारी गरेको छ । तर महासंघले तत्काल जारी गर्नुपर्ने अडान दोहो¥याएको छ । संयोजक पराजुलीले पटकपटक धोका खाइसकेका छाैं, अब कुनै पनि हालतमा झुक्दैनाैं, ऐन लिएरमात्र जिल्ला फर्कनेछाँै ।
यसअघि महासंघले २०८० असोज ३ बाट काठमाडौं जाऔँ आन्दोलन शुरू गरेको थियो । अघिल्लो वर्ष साउन २८ बाट आन्दोलन शुरू भएको थियो । त्यसको ३ महिना पछि अन्तिम आन्दोलनको रूपमा सडक आन्दोलन घोषणा गर्दै सरकारसँग ५१ बँुदे सम्झौता भएपछि आन्दोलन रोकिएको थियो ।
सरकारले विधेयक संसदमा दर्ता भई प्रक्रियामा रहेकाले वार्तामार्फत समाधान गर्न आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन चैत ८ गते एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । सो उपसमितिले ३५ दिनभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर महासंघले अध्यादेशमार्फत ऐन ल्याउनुपर्ने जिकीर दोहो¥याएका छन् । समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउने बेलासम्म कुर्दा समस्या नपर्ने धारणा शिक्षकको छ । यसैगरी गतवर्ष भएको सम्झौताअनुसार ऐन आउनुपर्ने अडान महासंघको छ ।
शिक्षकहरूको माग सम्बोधन गछौँ: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शिक्षकहरूको माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ । थाइल्याण्डको बिमस्टेक बैठकमा सहभागी भएर फर्के लगत्तै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रम ओलीले शिक्षकहरूको माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सरकारमाथि विश्वास गरेर नै शिक्षकहरू प्रदर्शनमा आउनुभएको छ । उहाँहरूको आवाज सरकारले सुन्छ । यो सरकारको विश्वास भएर नै उहाँहरू आउनुभएको छ । नत्र पहिले यस्तो प्रदर्शन गर्नुहुन्थ्यो नि ।
‘प्रदर्शन गरे पनि कानमा बतास लाग्दैन भन्ने हुन्थ्यो ।
अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वासले आउनुभएको छ । हामी कुरा गर्छौँ, उहाँको आवाज सुन्छौँ । न उहाँहरू सरकार विरोधी हो, न सरकार उहाँहरूको । त्यसैले निकास निकाल्न प्रतिबद्ध छौँ ।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।
+ There are no comments
Add yours