२३ चैत, काठमाडौँ । मौसमी रोजगारीको खोजीमा भारत जानेहरूमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली र तराईका दुई प्रदेशका युवाहरू भएको पाइएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहकार्यमा तयार पारिएको नेपाल सीमापार आप्रवासन सर्वेक्षण प्रतिवेदनअनुसार रोजगारीको खोजीमा भारत जानेहरूमध्ये सुदूरपश्चिम प्रदेशबाट २३ प्रतिशत थिए।
प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशबाट २१.३ प्रतिशत, कर्णाली प्रदेशबाट १८.१ प्रतिशत र मधेश प्रदेशबाट १६.२ प्रतिशत छन् । अध्ययनले मङ्सिरम र जेठमा रोजगारीका लागि भारत जाने प्रवृत्ति देखाएको छ।
सर्वेक्षण प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी हिमाचल प्रदेश, दिल्ली, हरियाणा र बिहार रोजगारीका लागि जाने गरेको, कर्णाली प्रदेशबाट हिमाचल प्रदेश, उत्तराखण्ड र गुजरात जाने गरेको पाइएको छ ।
तराई-मधेशका प्रदेशहरूमा गण्डकी प्रदेशका आप्रवासी कामदारहरू दिल्ली र बिहार जाने गरेको, मधेश प्रदेशबाट हरियाणा सबैभन्दा रुचाइएको गन्तव्य हो, त्यसपछि बिहार र दिल्ली जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।
कोशी प्रदेशबाट आप्रवासी कामदारहरूको रुचाइएको गन्तव्य पश्चिम बङ्गाल, बिहार, हरियाणा, र दिल्ली रहेका छन्। अध्ययनअनुसार कुर्ता-धनुषा, बाँकेको जमुनाहा, इलामको पशुपतिनगरबाट रोजगारीका लागि जानेको सङ्ख्या सबैभन्दा धेरै छ। यसपछि रक्सौल, गड्डाचौकी, गौरीफन्टा र सुनौली प्रमुख श्रम आप्रवासनका नाकाहरू हुन् ।
भारतीय श्रम आप्रवासनमा जानेहरू अधिकांश-लगभग ५४ प्रतिशत ६ महिनादेखि १ वर्षका लागि जाने गरेको २७ प्रतिशत ६ महिनाभन्दा कमको अल्पकालीन रोजगारीमा जाने गरेको अध्ययनले देखाएको छ।
भारतीय श्रम आप्रवासनमा जानेहरूमध्ये करिब ७० प्रतिशतले मासिक २० देखि ५० हजार रुपैयाँसम्म आर्जन गर्ने गरेका छन् । यसरी गरिएको आर्जन मनी ट्रान्सफर एजेन्सीबाट ७७.८ प्रतिशतले पठाउने गरेको, १८.९ प्रतिशतले बैंकमार्फत र परिवार/साथीभाइमार्फत ४१.२ पठाउने गरेको सर्वेका क्रममा बताएका छन् ।
+ There are no comments
Add yours