रिकन्डिसन गाडी किन्दै हुनुहुन्छ ? बुझ्नैपर्छ यी १० कुरा

२१ चैत, काठमाडाैं । बदलिँदो समयसँगै गाडी विलासिता भन्दा बढी आवश्यकताको साधन बनेको छ । त्यसैले नयाँ गाडी किन्न नसक्नेहरूले सेकेन्ड ह्यान्ड गाडी किन्ने सोच पनि बनाएका हुन्छन् ।

कम पैसामा राम्रो अवस्थाको गाडी पाइने हुँदा यो विकल्प रोज्नु राम्रो पनि हो । तर, रिकन्डिसन गाडी खरिद गर्नुअघि विभिन्न कुरामा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । ताकि राम्रो र भरपर्दो गाडी प्राप्त गर्न सकियोस् र पछि समस्याबाट बच्न सकियोस् । यस्तोमा गाडी किन्दा के कुरामा ध्यान दिने ?

यस विषयमा अटो विज्ञ भूषणकुमार श्रेष्ठको सुझाव यस्तो छ

१.गाडीको बिगत

किलोमिटर : गाडी कति किलोमिटर गुडेको छ, त्यसको रेकर्ड हेर्नुपर्छ । धेरै गुडेको गाडीमा समस्या आउने सम्भावना बढी हुन्छ । साथै सेकेन्ड ह्यान्ड गाडी किन्नुभन्दा पहिला ओडो मिटरको जाँच आवश्यक हुन्छ । कहिलेकाहीँ व्यापारीले गाडी महँगो मूल्यमा बेच्नका लागि ओडो मिटर बिगारेको हुनसक्छन् ।

उदाहरणका लागि गाडी बेच्नेले ओडो मिटर बिगारेर ५ हजार किलोमिटर गुडेको गाडीलाई १ हजार किलोमिटर मात्र गुडेको देखिने बनाइदिन सक्छन् । कम गुडेको राम्रो कन्डिसनको गाडी सोचेर हामीले बढी मूल्य तिर्दा ठगिन सक्छौँ । त्यसैले वास्तविकता थाहा पाउनका लागि गाडीको ओडो मिटर जाँच गराउनु राम्रो हुन्छ ।

गाडीको रेकर्ड : गाडीको पुरानो इतिहास (जस्तै, दुर्घटना, मर्मत, स्वामित्व परिवर्तन) जाँच्नुपर्छ । गाडी कुनै दुर्घटनामा परेको थियो वा त्यो दुर्घटनाका असरहरू गाडीमा के-के छन् भन्ने बारेमा समेत पूर्णजानकारी लिनु आवश्यक हुन्छ । नेपालमा यस्तो जानकारी सिधै उपलब्ध नहुन सक्छ, तर सम्भव भएसम्म गाडीको कागजात वा बिक्रेतासँग सोध्नु पर्छ ।

२.गाडीको अवस्था जाँच्ने

बाहिरी अवस्था : गाडीको बडीमा खिया, डेन्ट, रङ्गको अवस्था, र पेन्टको एकरूपता हेर्नुपर्छ । रिकन्डिसन गरिएको गाडीमा पुराना क्षतिहरू लुकाइएको हुनसक्छ ।

इन्जिन र मेकानिकल पार्ट्स : इन्जिनको आवाज, तेल चुहावट, ब्रेक, सस्पेन्सन र टायरको अवस्था जाँच्नुपर्छ । आफूलाई यी कुरा जाँच गर्न गाह्रो हुन्छ भने अनुभवी र दक्ष मेकानिकको सहयोग लिन सकिन्छ ।

भित्री अवस्था : सिट, ड्यासबोर्ड, एसी र बिजुलीका सामानहरू (जस्तै-: झ्याल, लाइट) ठिक छ कि छैन, परीक्षण गर्नुपर्छ ।

३.रिकन्डिसन प्रक्रिया बुझ्ने

के-के मर्मत गरियो ? : बिक्रेतासँग रिकन्डिसनमा के–के काम गरिएको हो (जस्तै, इन्जिन , पाट्र्स फेर्ने, पेन्टिङ) को विवरण माग्नुपर्छ ।

प्रमाणित मर्मत : मर्मत प्रमाणित ग्यारेज वा कम्पनीबाट भएको हो कि व्यक्तिगत रूपमा, यो पनि जाँच्नुपर्छ । प्रमाणित ठाउँबाट भएको भए भरपर्दो हुन्छ ।

४.गाडी चोरीको पो हो कि

धेरै घटना यस्ता पनि हुन सक्छन् जस्तो ग्राहकले किनिसकेपछि गाडी चोरीको भएको थाहा हुन्छ । यस्तो समस्याबाट बच्नका लागि गाडीको रजिस्ट्रेसन नम्बर, इन्स्योरेन्सका सम्पूर्ण कागज जाँच गरेर मात्रै किन्नुपर्छ ।

५.कागजी प्रमाणपत्र र कानुनी पक्ष

कागजात : गाडीको ब्लु बुक, बिमा, र कर तिरेको रसिद जाँच्नुपर्छ । नामसारी ठिकसँग भएको छ कि छैन, हेर्नुपर्छ । ऋण वा कानुनी समस्याः गाडीमा कुनै ऋण बाँकी छ कि छैन, वा कानुनी विवाद छ कि छैन, पक्का गर्नुपर्छ ।

नम्बर प्लेट : गाडीको नम्बर प्लेट र कागजात मेल खान्छ कि खाँदैन, जाँच्नुपर्छ ।

६.टेस्ट ड्राइभ

गाडीको टेस्ट ड्राइभ गर्नुपर्छ । यसले इन्जिनको पर्फमेन्स, ब्रेक, स्टेरिङ र सस्पेन्सनको अवस्था थाहा हुन्छ । यदि बिक्रेताले टेस्ट ड्राइभ गर्न नदिएमा शङ्का गर्नुपर्छ ।

७.मूल्य र बजार तुलना

बजार मूल्य : उही मोडल र अवस्थाको रिकन्डिसन गाडीको बजार मूल्य अनुसन्धान गर्नुपर्छ । अनलाइन प्लेटफर्म वा स्थानीय डिलरसँग तुलना गर्न सकिन्छ ।

बार्गेनिङ : रिकन्डिसन गाडीको मूल्यमा बार्गेनिङ गर्न सकिन्छ, विशेष गरी यदि कुनै कमजोरी देखियो भने ।

८.बिमा र वारेन्टी

बीमा : गाडीको बिमा सक्रिय छ कि छैन र नयाँ खरिदकर्ताको नाममा ट्रान्सफर गर्न सकिन्छ कि सकिँदैन, जाँच्नुपर्छ ।

वारेन्टी : रिकन्डिसनपछि कुनै वारेन्टी छ कि छैन, सोध्नुपर्छ । सामान्यतया रिकन्डिसन गाडीमा वारेन्टी कमै हुन्छ, तर सम्भव भए माग्नुपर्छ ।

९.बिक्रेताको विश्वसनीयता

यदि डिलरबाट किन्दै हुनुहुन्छ भने उसको प्रतिष्ठा जाँच्नुपर्छ । सकेसम्म प्रमाणित डिलर वा कम्पनीबाट रिकन्डिसन गाडी किन्नुपर्छ , जसले गुणस्तर र विश्वसनीयताको ग्यारेन्टी दिन्छ ।

व्यक्तिबाट किन्दा पनि सावधानी अपनाउनुपर्छ । सकेसम्म अलि नजिकबाट चिनेको व्यक्तिबाट किन्नु राम्रो हुन्छ । गाडी किन्दा पैसा दिनुअघि सबै कुरा राम्ररी जाँच्नुपर्छ। लिखित सम्झौता गर्नुपर्छ।

१०.भविष्यको खर्च

रिकन्डिसन गाडीमा मर्मत र पार्ट्स खर्च बढी हुनसक्छ । त्यसैले, किन्दा यी कुरालाई पनि बजेटमा समावेश गर्नुपर्छ । गाडीको अवस्था पूर्णरूपमा जाँच्न मेकानिकलाई साथमा लैजानु उत्तम हुन्छ । उनीहरूले लुकेका समस्याहरू पत्ता लगाउन सक्छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours