लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी

१९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगी हर्षित भएका छन् ।

फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणबाट औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेको भन्दै खुसी व्यक्त गरेको हो ।

औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयात पहल गरेर लोडसेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ऊर्जा मन्त्रालय र सरकारलाई एसोसिएसनले धन्यवाद दिएको छ ।

एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ ।

एसोसिएसनमा आबद्ध संघहरूमा सदस्य रहेका उद्योगले क्षमता अनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको र त्यसका कारण उद्योगले आम्दानी तथा राज्यले राजस्व गुमाइरहेको एवं त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

यस्तै स्वदेशी श्रम एवं सिपमा आधारित कच्चापदार्थ र उत्पादन प्रवर्द्धन गर्दै विश्वबजारमा चिनाउने, बजारीकरण गर्ने, प्रतिस्पर्धी बनाउने र नेपालको अर्थतन्त्र आत्मनिर्भर बनाउन निरन्तर लागिपरेका निर्यातमुखी उद्योगले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका कारण असुरक्षा र अनिश्चितताको विकराल समस्या भोगिरहेको विज्ञप्तिमा छ ।

पछिल्ला केही दिनयता छिमेकी भारतवाट थप बिजुली आयात गरी प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गरिरहेको छ । यससँगै अब औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितताको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले स्वदेशी कच्चापदार्थ एवं उत्पादन उपभोग तथा नियात प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी वृद्धि, नयाँ उद्यमी तथा उद्यमशीलता विकास एवं विस्तारसँगै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्दै आएको जनाएको छ ।

यस्तै यसमा संगठित उद्योगले निर्यात मार्फत राज्य र अर्थतन्त्रमा गरिरहेको योगदान उल्लेख्य रहेको तथ्यांकले प्रमाणित गर्ने एसोसिएसनको भनाइ छ ।

तर, लामो समयदेखि निर्यातमा सरकारले दिने नगद सहुलियत निकासा रोकिएको गुनासो समेत एसोसिएनको छ । एसोसिएसनले यथाशीघ्र सहुलियत रकम प्रदान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours