सुनको भाउमा रेकर्ड क्रम जारी, किन बढिरहेको छ ?

१९ चैत, काठमाडौं । चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन भाउ प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय बढी हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।

किन बढिरहेको छ भाउ ?

सुनको भाउ लगातार बढ्नुमा अमेरिकाप्रति अन्य मुलुकहरुको बढ्दो असन्तुष्टि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को गरी अमेरिका आयात हुने वस्तुमा करका दर थोपर्दै गएपछि विभिन्न मुलुकहरु असन्तुष्ट छन् ।

यसअघि चीन, मेक्सिको तथा क्यानडाबाट आयात हुने वस्तुमा कर बढाएका उनले अमेरिका आयात हुने सवारीसाधनमा २५ प्रतिशतसम्म ट्यारिफ घोषणा गरेका छन् । भोलि बुधबारदेखि नै यो लागू हुनेछ । यसले अटोमोबाइल क्षेत्रमा माग घट्न गई अमेरिकासँग विभिन्न मुलुकको व्यापार नै प्रभावित पार्नेछ ।

यहीं कारण लगानीकर्ता तथा केन्द्रीय बैंकले समेत सुनमा लगानी बढाएका छन् । जसले अन्तर्राष्ट्रिय बजारमा माग बढ्न गई मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारको भाउअनुसार यहाँ महासंघले समायोजन गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours