पासपोर्ट रद्द गर्ने तयारी, अराजक गतिविधि नरोके पक्राउ गरिने

१७ चैत, काठमाडौँ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेको छ । पूर्वराजा शाहकै निर्देशनमा राजावादीहरूले तीनकुने र आसपासका क्षेत्रमा तोडफोड, आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गरेको सरकारको निष्कर्ष छ ।

सुरक्षा निकायहरूले पनि शुक्रबार भएको राजावादीको अराजकता ज्ञानेन्द्रकै निर्देशनमा भएको सरकारलाई ब्रिफिङ गरेका छन् । पूर्वराजाको समर्थनमा राजावादीहरूले गरेको अनपेक्षित अराजकतापछि सरकारले कठोर नीति अख्तियार गरेको छ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो । शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा शाह रहेको भन्दै शाहको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको सरकारी स्रोतको दाबी छ ।

शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा हुन् भन्ने निष्कर्ष निस्किएको जानकारी दिँदै एक उच्च सरकारी अधिकारीले हिंसा मच्चाउने मुख्य योजनाकार रहेको र टिम परिचालन गरेको आधारमा शाहको पासपोर्ट रद्द गर्ने प्रक्रिया अगाडि बढाउने सरकारको तयारी रहेको बताए । शाहलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको सरकारको बुझाइ छ ।

सरकारलाई सञ्चारमाध्यमदेखि नागरिक तहसम्ममा ज्ञानेन्द्रलाई निगरानी गर्न र जवाफदेही बनाउन दबाब परेको छ । विपक्षी दलहरूले पनि ज्ञानेन्द्रका गतिविधि नियन्त्रण गर्न सरकारमाथि दबाब बढाएका छन् । यस प्रकारको दबाब बढ्दै गए पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ नै गर्ने सम्मको तहमा पुग्ने स्रोतको भनाइ छ । यस्तोमा शाह अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको सरकारी स्रोतको दाबी छ ।

ज्ञानेन्द्रको मानसिकता नै आपराधिक छ भन्ने पुष्टि भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गर्नुभएको छ । राजावादी समूहले शुक्रबार तोडफोड गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि प्रचण्डले भन्नुभयो, ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’ सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झण्डै ४०–४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ । राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन ।’

ज्ञानेन्द्र शाह सुध्रिने मानिस होइनन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रो मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको आरोप लगाउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गर्दै सभापति देउवाले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्रका नाममा शुक्रबार जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ । ज्ञानेन्द्र कहिल्यै सुधिँ्रदैनन् । उनी सुध्रिने मानिस होइनन् । उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन् ।’ विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गर्नुभएको थियो । त्यसको दुई वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाएर नजरबन्दमा राख्नुभएको थियो ।

तीनकुनेको हिंसात्मक घटनामा ज्ञानेन्द्रले जवाफ दिनुपर्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्ने बताउनुभएको छ । ज्ञानेन्द्रलाई सरकारले दिएको सम्मान र सुरक्षामा पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै सिटौलाले भन्नुभयो, ‘शुक्रबार काठमाडौंको कोटेश्वर आसपासमा राजतन्त्र पक्षधरहरूले जे हिंसात्मक र दुःखद् घटना घटाए, त्यसप्रति मेरो खेद् छ, घटनाको म भत्र्सना गर्दछु, घटना ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? यदि हो भने उनले जिम्मेवारी लिनुपर्छ । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुन–जुन कुरा उठान भएका छन्, त्यसको उपज शुक्रबारको घटना हो भन्ने बुझिन्छ, राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’

प्रहरीले गृहमन्त्रीको आदेश नमानेको हो कि भन्ने शंका छ : नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले सुरक्षाकर्मीले गृहमन्त्री रमेश लेखकको आदेश मान्न छाडेको हो कि भन्ने आशंका उत्पन्न भएको टिप्पणी गर्नुभएको छ । राजावादीले तोडफोड र आगजनी गरेको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणमा पुग्नुभएका गृहमन्त्री रमेश लेखकलाई नेपालले आशंका व्यक्त गर्दै भन्नुभयो, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ ।’

प्रदर्शनका नाममा सुनियोजित आक्रमण, कारबाही हुन्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले राजावादीहरूद्वारा गरिएको आक्रमण र हिंसात्मक घटनामा संलग्नलाई कानुन अनुसार कडा कारबाही हुने दाबी गर्नुभएको छ । शनिबार तीनकुने क्षेत्रको निरीक्षण गर्ने क्रममा गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘शुक्रबार भएको घटना प्रदर्शन होइन, योजनाबद्ध आक्रमण हो । सञ्चारगृह, गणतन्त्र समर्थक नेताका घर, पार्टी कार्यालयमा आक्रमण, निजी तथा सरकारी सम्पत्तिको विनाश, सपिङ कम्प्लेक्सहरूमा तोडफोड गर्नु सबै आपराधिक गतिविधि हुन् । दोषीहरूमाथि कानुन अनुसार कारबाही हुन्छ ।’

सांसद धवलशमशेर फौजदारी अभियोगमा पक्राउ परेको जानकारी संसद्मा

राजावादीले गरेको प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भएको र त्यसमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर राणाका सम्बन्धमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । राणा फौजदारी अभियोगमा पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई गराएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद राणा पक्राउ परेको सूचनाका सम्बन्धमा सभामुख घिमिरेलाई पत्र पठाएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, ‘सांसद राणा पक्राउ गरिएकाबारे प्रहरीले जानकारी अवगत गराएको छ । प्रहरीले लेखेको पत्र प्राप्त भएको छ ।’ संविधानको धारा १०३ (६) मा फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरिए सभामुखलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । राप्रपाका महामन्त्रीसमेत रहनुभएका राणाको नेतृत्वमा रहेको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’को प्रदर्शन उग्र रूप लिएपछि शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिगमनविरुद्ध एकताबद्ध हुन मसालको आहृवान

नेकपा मसालले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षता पक्षधरलाई एकताबद्ध हुन आहृवान गरेको छ । राजतन्त्रको पुनस्र्थापनाको प्रयत्नलाई सम्पूर्णरूपले पराजित गर्न लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षपातीहरू एकताबद्ध भएर संघर्षमा उत्रनुपर्ने आवश्यकतामा मसालले जोड दिएको हो ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा ‘गणतन्त्र पक्षधरहरूका बीचमा संघीयताको प्रश्नमा मतभेद भए पनि’ प्रतिगमनको विरोध तथा गणतन्त्र र धर्मनिरपेक्षताका लागि एकजुट हुन आग्रह गरिएको छ । मसालले शुक्रबार काठमाडौंमा राजावादीहरूले गरेको तोडफोड, आगजनीलगायत हिंसात्मक गतिविधिको तीव्र शब्दमा निन्दा गरेको छ ।

तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग गर्न माग गरेको छ । केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक यही चैत १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने निर्णय पनि गरेको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि तीनकुने घटनाको सत्यतथ्य छानविन गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानविन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ ।

महानगरले काट्यो पूर्वराजालाई जरिवाना पत्र

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ । शुक्रबार शाहको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवानाको पत्र काटेको हो । पूर्वराजाको समर्थन र निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिराउन लागेको हो ।

ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्याण्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए । समग्र क्षतिको मूल्याकंन सरकारको छानविन समितिले गर्ने भए पनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours