अनिता भेटवाल
१६ चैत, काठमाडौं । अघिल्लो रात मर्मतका लागि ग्यारेजमा छोडेको गाडीलाई लिन बल्खु गएका सविन महर्जन एक्कासी तीनकुनेको प्रदर्शनमा मारिएको खबर सुनेदेखि परिवारजन सम्हालिन सकेका छैनन्।
सदा झैं चैत १५ को अपराह्न पनि भविषा ठकुरी मल्ल काठमाडौंको कीर्तिपुर नगरपालिका-४, गाम्चास्थित घरमै थिइन्। सात वर्षीया छोरी सुविसासँगै घरायसी काममै थिइन्। एकाएक उनको मोबाइलमा फोन आयो, सविन महर्जनको मृत्यु भयो।
सविन महर्जन उनै २९ वर्षीय युवक हुन्, जसको तीनकुनेमा गोली लागेर ज्यान गयो। भविषाका श्रीमान् हुन्, सविन।
यो खबर पनि त्रिवि शिक्षण असस्पतालबाट आएको थियो। उनी महाराजगञ्जतिरै दगुरिन्।
भोलिपल्ट अर्थात चैत १६ गते बिहान मात्रै घर फर्किन्। उनी घर नपुग्दै गाउँले जम्मा भइसकेका थिए। छरछिमेकी र आफन्तजन पनि घरमा पुगिसकेका थिए।
श्रीमानको शव शिक्षण अस्पतालमै छोडेर घर पुगेकी उनी छोरीसँगै टोलाइरहेकी थिइन्। आफन्तजन सम्झाइबुझाइ गरिरहेका थिए। “मेरो बुढोको देब्रे छातीमा गोली लागेको देखें। ऐयाा पनि भन्न पाएन होला,” गाम्चास्थित घरमा पीडा सुनाउँदै प्रश्न गरिन्, “अहिले घरमा अनेक मान्छे आएर हामी तपाईंको लागि केही गर्छौं भनिरहेका छन्। मेरो बुढो फर्काउन सक्छन?”
सविन पनि चैत १५ गते बिहान त केहीबरमा घर फर्किन्छु भनेरै निस्केका थिए। सधैं झै अघिल्लो राति बल्खुस्थित ग्यारेजमा गाडी छोडेर आएका थिए, मर्मतका लागि।
उनी गत १० वर्षदेखि हेटौंडा-काठमाडौं चल्ने वेलकम सुमो सेवाका गाडी चलाउँथे। प्रायः उनी राति हेटौडामै बस्थे। गाडी मर्मत गर्नुपर्दा गाम्चास्थित घर आइपुग्थे।

एक सातापछि चैत १४ मा हेटौंडाबाट काठमाडौं आएका थिए। त्यहि राति बल्खुस्थित एक ग्यारेजमा गाडी बनाउन दिएका थिए। राति नै घर आएका उनी चैत १५ गते बिहान १० बजे गाडी लिन बल्खु गएका थिए।
गाडी लिन बल्खु गएका सविन कसरी तीनकुने पुगे भन्ने परिवारजन र सहकर्मीले पनि मेसो पाएका छैनन्। “गाडी बनाउन भनेर हिड्नु भएको थियो। तर आन्दोलनमा मृत्यु भएको खबर सुने। खै, कसरी पुग्नुभयो!,” सविनकी पत्नी भविषा भन्छिन्।
सविनले भविषालाई पनि अरु केही भनेका थिएनन्। बल्खुको ग्यारेजमा रहेको गाडी ल्याएर फर्किने बताएका थिए। “ग्यारेजबाट कसैले उता लग्यो कि वा अरु नै कामले पो तीनकुने जानुभयो? थाहा छैन,” भविषाले धेरै बोल्न सकिनन्।
परिवारजन पनि सविन कसरी तीनकुने पुगे भन्नेमा चकित छन्। अहिलेसम्म सविन कुनै पनि आन्दोलन वा कार्यक्रममा गएको आफन्तजनलाई थाहा छैन। उनी प्रायः आन्दोलन, प्रदर्शन होस् वा अन्य भेलासेलामा नजानेमा पर्छन्। “हुलहुज्जमा कहिले गएन, आफ्नै काममा हुन्थ्यो,” उनका काका विकास महर्जन भन्छन्।
काका विकासले नै सविनलाई हुर्काएका थिए। सविनले पाँच वर्षमै आमा गुमाएका थिए। आमाको मृत्युपछि बुवाले अर्को विहे गरे। त्यसपछि आफूसँगै हुर्किएको काका विकास सुनाउँछन्।
अहिले पनि सविनको परिवार काकाले दिएकै घरमा बस्दै आएको छ। उनीहरूलाई काका विकासले दुई कोठा दिएका छन्। श्रीमती भविषा र छोरी पनि चैत १६ गते बिहान तिनै कोठामा थिए।

सविनले कक्षा ८ सम्म पढेका थिए। त्यसपछि उनी १४ वर्षको उमेरमै गाडीतिर लागेका थिए। त्यहि क्रममा हेटौडाकी भविषासँग प्रेम बस्यो। त्यसपछि २०७२ सालमा प्रेम विवाह गरेका थिए।
काम र परिवारबाहेक यताउता नजाने भएकाले उनका धेरै साथी पनि रहेको काका विकास सुनाउँछन्। “घर बाहिर कहि नजाने। त्यही भएर गाउँमा साथी पनि थिएनन्,” विकास भन्छन्, “कहिल्यै राजनीतिक कुरा गर्दैन्थ्यो। तीनकुने कसरी पुग्यो, पुग्यो!”
यसअघि कतै आन्दोलनमा गएको पनि नदेखेको उनी सुनाउँछन्। “फेरि पहिला आन्दोलनमा जाने गरेको भए त हिजो पनि नजा बाबु भन्नहुन्थ्यो। के के भो, भो!,” उनी निरासा पोख्छन्।
सविनसँगै वेलकम सुमो सेवामा काम गर्ने सागर थापा पनि सविन कसरी तीनकुने पुगे भन्ने मेसै नपाएको सुनाउँछन्। जहिले गाडी ल्याएर मात्रै ग्यारेजबाट फर्किने गरेको उनी बताउँछन्। “गाडी बनाउन गएको मान्छे, बनाएरै मात्र फर्किन्थ्यो। यो चोटी खै भयो?,” सविनका साथी सागर भन्छन्, “आन्दोलनमा परेर बितेछ।”
कीर्तिपुर-४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि सविनलाई अहिलेसम्म राजनीतिक तथा सामाजिक गतिविधिमा नदेखेको सुनाउँछन्। सविन प्रायः हेटौंडामै बस्ने गरेको उनी बताउँछन। “यहिँ ठाउँका अरु युवा सबैलाई चिन्छु, सविनलाई त खासै चिनेको पनि थिइनँ। ऊ प्रायः हेटौंडातिरै हुँदोरहेछ,” वडाध्यक्ष बानियाँ भन्छन्, “साधारण मान्छेले यसरी गोली खायो! यसको जिम्मेवारी कसैले त लिनैपर्छ।”
सविनको मृत्यु भएको खबर फैलिएसँगै आफन्त, छरछिमेकी त घरमा पुगिरहेका छन् नै विभिन्न संघसंस्थाका मान्छे पनि गाउँमा पुगेका छन्। तीनकुनेमा प्रदर्शन गरेका पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकदेखि सरकारका प्रतिनिधि सविनको घरमा पुगिरहेका छन्। तर, भविषालाई भने कसैसँग मतलब छैन। सात वर्षीया छोरी सुविसासँगै कोठामा टोलाइरहेकी छन्।
जोसुकैको आन्दोलन होस्, त्यससँग आफ्नो कुनै सरोकार नभएको उनी बताउँछिन्। त्यो दिन पनि कसको आन्दोलन थियो भन्ने पत्तो नभएको उनी सुनाउँछिन्। “यो आन्दोलन किन भएको भन्ने पनि थाहा छैन। शान्तिपूर्ण आन्दोलन भएको भए किन यो सबै हुनेथियो,” उनी भन्छिन्।
त्यो दिन भविषा गाउँकै सहकारीको कार्यक्रममा व्यस्त भइन्। उनी पनि कुनै दलको समर्थनमा हिड्ने गरेकी छैनन्। सविनलाई पनि कसैको मतलब नरहेको भविषा सुनाउँछिन्।

काका विकास पनि सविनलाई कसै ‘ट्याग’ नलाउन आग्रह गर्छन्। विभिन्न पक्षका मान्छे आएर फकाउन खाथेपछि दिक्क लागेको उनी बताउँछन्। “हामी केही वादी हैन, सर्वसाधरण हो। यसको वा उसको भनेर अपहेलना नगरुन,” उनी भन्छन्, “अरुको त के भयो र! सबैको राम्रै छ। हाम्रो पो छोरा बित्यो।”
सविनको ज्यान गएसँगै परिवार पनि समस्या परेको छ। उनकै कामाकाजले परिवारको दैनिकी चलिरहेको थियो। नातिनी र बुहारीको भविष्यका लागि सरकारले सघाउनुपर्ने उनको भनाइ छ। “अब जे गरे पनि सविन त फर्केर आउँदैन। नातिनीको भविष्यका लागि सरकारले हेरिदिए हुन्थ्यो,” काका विकास भन्छन्।
भविषाले भने केही सोच्नै सकेकी छैनन्। सविन गाडी लिन ग्यारेज गएदेखि बल्खुतिर रहेको उनको ध्यान मृत्यु भयो भनेर फोन आएदेखि भने शिक्षण अस्पतालतिर एकाहोरिएको छ। शुरूमा त उनलाई पत्यार लागेको थिएन। शिक्षण अस्पताल पुगेर शव देखपछि भने अचेत भइन्।
एक रात अस्पतालमै बिताएकी उनी चैत १६ गते बिहान मात्रै घर फर्केकी छन्। अब सविन त फर्किदैनन्, सविनको शव पर्खिरहेकी छन्।
हिमालखबर
+ There are no comments
Add yours