१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न नाममा हुने आन्दोलन र प्रदर्शनले सर्वसाधारण एंव उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने अधिकार हनन भएको बताएको छ । शुक्रबार तीनकुनेमा आयोजित राजावादीको आन्दोलनका कारण त्यस क्षेत्र आसपास सञ्चालित पेशा व्यवसायमाथि आक्रमणका घटना भएका थिए । सोही आक्रमणको विरोध गर्दै महासंघले पेशा व्यवसाय सञ्चालन गर्न पाउने अधिकार हनन भएको जनाएको हो ।
‘भिन्न माग राखी हुने गरेका आन्दोलन रप्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको छ,’ महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
चैत १५ गते काठमाडौंमा भएको आन्दोलन र प्रर्दशनका क्रममा मानवीय क्षतिसंगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलन र प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना समेत महासंघले गरेको छ ।
साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्सर्ना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघको माग छ । संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ ।
+ There are no comments
Add yours