१६ चैत, काठमाडौं । मिती २०८१ साल चैत १६ गते शनिबार चैत्रकृष्ण औँसी तिथी बेलुका ५ / ०३ बजेसम्म त्यस उप्रान्त चैत्रशुक्ल प्रतीपदा तिथी आरम्भ हुने भएकोले यो दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व मनाइँदैछ ।
परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्न दिइएको गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो ।यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरु खोज्न थाले । त्यसपछि त्यस राक्षसलाई थुप्रै घोडाले कुल्चाएर मारिएको थियो र उनलाई त्यहि गाडिएको छ भन्ने किम्बदन्ती रहेको छ।

गुरुमापाको प्रतीकका रूपमा टुँडिखेलको पुर्व दक्षिण दिशामा सो रुख अझसम्म पनि सुरक्षित छ।अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ ।यो उत्सव सम्पन्न गराउनु पूर्व वसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडामा राखी टुँडिखेलको सैनिक मञ्चमा ल्याइ सम्मानपूर्वक देवीलाई सेनाबाट सलामी चढाइन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे ।यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो।
पं -बालमुकुन्द देबकोटा
सदस्य,सनातन विद्वत्
परिषद् नेपाल।
+ There are no comments
Add yours