१५ चैत, काठमाडौँ । विद्युतीय स्कुटर ब्रान्ड गोगोरोले काठमाडौँका ४५ स्थानहरुमा ब्याट्री स्वाप स्टेशन स्थापना गरी सञ्चालन गरेको छ ।
विद्युतीय सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरी बलियो नेटवर्क बनाउने उद्देश्यका साथ गोगोरो स्कुटरको आधिकारिक बिक्रेता नेबुला इनर्जीले काठमाडौँका ४५ स्थानहरुमा ब्याट्री स्वाप स्टेशन सुरु गरेको हो ।
चौबिसै घण्टा सञ्चालनमा रहने ब्याट्री स्वापस्टेशनहरु पेट्रोल पम्प, सुपरमार्केट तथा २–३ किलोमिटरको दूरीमा स्थापना गरिएको कम्पनीले जनाएको छ । एआई प्रविधि जडान गरिएका उक्त स्वाप स्टेशनहरुमा रियल टाइम ब्याट्री हेल्थको निगरानीको मापदण्ड अपनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार्जिङका लागि पर्खने झन्झट हटाउँदै फूल चार्ज गरिएका ब्याट्रीको पहुँच बढाउने उद्देश्यले ब्याट्री स्वाप स्टेशन सञ्चालन गरेको नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले बताए । उनी भन्छन्, ‘नेपालको इभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्वाप स्टेशनहरु हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो हो ।’
सन् २०११ मा ताइवानमा स्थापना भएको गोगोरोले नवीन प्रविधिलाई आत्मसात् गर्दै शहरी उर्जा वितरणमा महत्वपूर्ण काम गरेको कम्पनीले जनाएको छ । ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर हुँदै हालै नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको कम्पनीको दाबी छ ।
+ There are no comments
Add yours