काठमाडौँको महत्त्वपूर्ण चाडलाई किन बेवास्ता गरे आन्दोलनकारीहरूले?

१४ चैत, काठमाडौँ भोलि शुक्रबार (चैत १५ गते) काठमाडौँमा दुई समूहले मान्छे उतार्दैछन्। एउटा राजसंस्थावादी समूह, अर्को समाजवादी समूहले।

राजसंस्थावादीलाई जनताले फालेकै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्काउनु छ। समाजवादीलाई आफैँले फालेको पूर्वराजा आइहाल्छन् कि भन्ने डरले लोकतन्त्रको पक्षमा सडकमा मान्छे उतार्नु छ।

दुवै समूहले काठमाडौँबाहिरबाट मान्छे लिएर यहाँ प्रदर्शनको मञ्चन गर्नुपर्नेछ, आ-आफ्नो दाउमा ।

तर दुवै समूहले भुलेको के छ भने १५ गते काठमाडौँले उत्सव पनि मनाउँदैछ। त्यो हो, ‘पाहां चह्रे जात्रा’। पाहां चह्रे काठमाडौँवासीका लागि महत्वपूर्ण पर्व हो। जसरी भक्तपुरले बिस्का जात्रालाई महत्वका साथ मनाउँछ, त्यसैगरी काठमाडौँले पाहां चह्रे जात्रालाई महत्व दिन्छ।

काठमाडौँका स्थानीय सुमन सायमी भन्छन्– ‘पाहां चह्रे जात्रा काठमाडौँको कोर एरियामा निकै महत्वका साथ मनाइन्छ।’ भोलि मनाइने पाहां चह्रेका लागि आज तयारी गरिरहेकोबताए।

‘भोलि टोल–टोलमा हामीले जात्रा निकाल्छौँ। मन्दिरमा गएर पूजा गर्छौँ। पहिले भन्दा महत्वका साथ आजभोलि यस जात्रा मनाउन थालिएको छ’, उनले भने।

काठमाडौँले उत्सव मनाउँदै गर्दा भोलि (शुक्रबार) राजसंस्थावादी र समाजवादीले सडक प्रदर्शन गर्दैछन्। उनीहरूकै भनाइमा उक्त प्रदर्शन विशाल हुनेछ। लाखमा मान्छेको सहभागिता हुने दाबी उनीहरूको छ। उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने उक्त जुलुसमा केही हजार मान्छे आउने र त्यसलाई ‘तिलको पहाड’ बनाउन नहुने बताएका छन्, बिहीबार नै।

लाखमा मान्छे सहभागी गराउने दाबी गर्ने यी समूहले काठमाडौँलाई भने कुनै महत्व नदिएको काठमाडौँले उत्सव मनाउने दिनमा गरिएको प्रदर्शनबाटै प्रष्ट हुन्छ। ‘यी प्रदर्शन हाम्रा लागि होइन। हामीलाई महत्व दिएर गरिएको पनि होइन। हामीलाई मतलव पनि छैन’, काठमाडौँ महानगरको मेयरका लागि चुनावसमेत लडेका सायमी भन्छन्, ‘हामीलाई वा काठमाडौँवासीलाई महत्व दिने भए यस्तो आन्दोलन नै हुने थिएन।’

नेपालको इतिहासको आन्दोलन काठमाडौँ नतातिएसम्म सफल भएको छैन। त्यो २००७ सालमा राणा शासन अन्त्यका लागि होस् वा २०४६ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन वा राजतन्त्र अन्यतका लागि भएको २०६२/०६३ को आन्दोलन, काठमाडौँको साथले मात्र सफल भएको राजनीतिक दलहरू नै भन्ने गर्छन्।

उनी दल, समूहरूले काठमाडौँको उत्सवलाई भने वास्ता गरेका छैनन्। सामान्यत: दशैतिहारमा यस्ता आन्दोलन हुँदैन। उत्सवमा आन्दोलन भन्दा पनि खुसी साट्ने, रमाउने हो।

सायमीले काठमाडौँवासीको भावनाअनुसार कोही पनि सडकमा नआएको बताए। ‘काठमाडौँवासीका लागि सडकमा कोही आएका होइनन्। उनीहरू आफ्नै स्वार्थका लागि आएका छन्’, उनले भने ‘नत्र त नेपाललाई चिनाउने यहाँको नेवा सभ्यता, नेवा उत्सवका दिन यस्ता आन्दोलन हुने नै थिएन।’

राजावादीको आन्दोलन घोडेजात्रामा स्थगन

काठमाडौँको उत्सवका दिन पाहां चह्रेमा ‘संयुक्त जनआन्दोलन’ नाम दिएर प्रदर्शन थालनी गरेको राजसंस्थावादी समूहले अर्को दिन घोडेजात्रामा भने प्रदर्शन नगर्ने भएको छ।

‘चैत १६ गते घोडे जात्रा पर्व परेको र समस्त नेवा: समूदायहरूले उक्त दिन विशेष पर्वका रुपमा मनाउने परम्परा रहेकाले उक्त दिन हामीले कुनै आन्दोलनका कार्यक्रम राखेका छैनौँ’,’ राजावादी समूहले जारी गरेको अपिल पत्रमा छ।

पाहां चह्रे मनाइएको अर्को दिन घोडे जात्रा मनाइने गरिन्छ। सायमी घोडे जात्रा भन्दा काठमाडौँका लागि पाहां चह्रे महत्वपूर्ण जात्रा रहेको बताउँछन्। उनी घोडे जात्रा यहाँको नेवा समुदायका लागि खास्सै महत्व नहुने बताए।

‘घोडे जात्रा त पछि ल्याइएको जात्रा हो। यहाँको खास पाहां चह्रे हो’, उनले भने, ‘प्रदर्शन गर्नेलाई कुन पर्वमा प्रदर्शन गर्ने वा नगर्ने भन्ने नै थाहा छैन। पाहां चह्रे भनेको के हो थाहा नै छैन। थाहा भइदिएको भए आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन।’

उनले सबै समूदायको पहिचानका विषयमा सत्तामा रहेकाले नबुझेको बताए। ‘सबै समूदायको अधिकार, पहिचानको विषय उठेको सयममा सत्तामा बसेकाले बुझेकै छैन। अहिले पनि एकल चिन्तनको सोचले चल्यो र त्यसले समस्या भएको हो’, उनले भने।

के हो पाहां चह्रे जात्रा

पाहां चह्रे पर्व हरेक वर्षको चैत महिनाको चतुर्दशीका दिन मनाइने गरिन्छ। विकिपिडियाकाअनुसार खासगरी यो पर्व काठमाडौँका नेवारहरूले वर्षभरि मनाउने चाडहरूमध्ये ठूलो हो।

पाहां चह्रे भन्नदाले लुकमाःद्य (लुकेको महादेवलाई) पूजा गरी मनाइने पर्व हो। लुकमाःद्य भनेको क्षेत्रपाल हुन्। आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन्।

क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ। यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचह्रे मनाउँछन्।

पाहाँचह्रे विशेषतानै लुकमाःद्यलाई पूजा आ-आफ्ना गरी मनाउने हो। त्यसदिन आ-आफ्नो घर अगाडि चोडहरूमा टोलटोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझमा पहरमा पूजा गरी मनाइने गरिन्छ।

काठमाडौँका केही टोलटोलमा रहेका देविदेवता खटमा राखी आ-आफ्नो क्षेत्रमा परिक्रम गराई देवीदेवताहरूको जात्रा पनि गरिन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours