१४ चैत, काठमाडौँ । काठमाडौँ रेजर्सले जर्सी अनावरण, ट्रफी टुर र स्कूटर र्याली गरी नेपाल सुपर लिग (एनएसएल) को तयारी सुरु गरेको छ । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहाले रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटरको र्याली गरी एनएसएल सिजन ३ को सुरुवात गरेको हो ।
नक्सालस्थित यामाहाको ब्लू स्क्वायर सोरुमबाट सुरु भएको र्याली वसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो । र्यालीमा काठमाडौँ रेजर्स टिमका समर्थक, राइडर, फ्यानको उपस्थिति रहेको थियो । कार्यक्रममा एनएसएलको पहिलो सिजनको विजेतालाई समेत सम्मान गरेको छ ।
यामाहाको ब्लू स्क्वायर सोरुममै आएर टुङगीएको र्यालीपछि काठमाडौँ रेजर्सको जर्सी अनावरण गरिएको थियो । रेजर्सले सेतो र रातो गरी दुई रङको जर्सी सार्वजनिक गरेको हो । क्लबका ओनरहरु राहुल अग्रवाल, को–ओनर क्याबिनेट श्रेष्ठ तथा क्लबका निर्देशक विज्ञानराज शर्मा, क्लबका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्ड, पूर्व मिस नेपाल जेनिशा मोक्तान, कलाकार तथा मोडल कविता नेपालीले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
एनएसएलको तेस्रो संस्करण यही चैत १६ गते शनिबार देखि सुरु हुँदैछ । जहाँ काठमाडौं रेजर्ससहित ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौले उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
+ There are no comments
Add yours