१४ चैत, काठमाडाैं । अनलाइन किनमेल अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । आफूलाई आवश्यक परेका विभिन्न सामाग्री अनलाइनमा सर्च गरेर अर्डर गरेकै भरमा घरमै आइपुग्छन् । यसले हाम्रो समय र श्रम दुवैको बचत गर्छ । खानेकुरादेखि लत्ताकपडासम्म सबै कुरा अनलाइनमार्फत नै किनमेल गर्न सजिलो भएको छ ।
पछिल्लो समय अनलाइन व्यापरका नाममा हुने विभिन्न ठगी भने यसका चुनौती हुन् । त्यसैले अनलाइन सपिङ गर्दा नक्कली सामाग्री, ठगी जस्ता कुरामा भने निकै ध्यान दिन आवश्यक छ । अनलाइन किनमेल गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
१. वेबसाइटको विश्वसनीयता जाँच गर्ने
इन्टरनेटमा थुप्रै आधिकारिक तथा अनधिकृत साइट हुने भएकाले विशेष ख्याल गर्नुपर्छ । इन्टरनेटमा देखा परेका जुनसुकै साइटलाई विश्वास गरेर अनलाइन सपिङ गर्दा थुप्रै जोखिम हुन्छन् ।
किनमेलका लागि धेरै ई–कमर्श साइटहरू पनि छन् । तर तिनीहरूमध्ये थोरै मात्र छन्, जसलाई विश्वास गर्न सकिन्छ । यदि भरपर्दो साइटबाट किनमेल नगरेर जुनसुकै साइटबाट किनमेल गरियो भने पैसा अड्किन सक्छ । त्यसैले किनमेल गर्नुअघि, वेबसाइट फेक होइन भनेर निश्चित गर्नुपर्छ ।
यो जान्नका लागि (http / https) बीचको भिन्नता बुझ्नुपर्छ । यो विस्तारको कारण केही मानिसहरू जालमा फस्न सक्छन् । यदि डोमेनको नाममा http उपसर्ग लगाइएको छ भने, सावधान रहनुपर्छ । किनभने त्यस्ता साइटहरू नक्कली पनि हुन सक्छन् । जुसमा https छ भने त्यसलाई विश्वास गर्न सकिन्छ ।
२. ठगीको सङ्केत याद गर्ने
आजकल, किनमेलका अधिकांश सामान सोसल मिडिया प्लेटफर्महरूबाट आउँदै छन् । उत्पादन लिङ्कहरू मानिसहरूलाई ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राममा पठाइन्छ । जसमा ठूलो छुट उपलब्ध हुने बताइएको हुन्छ । हामी अनलाइनमा देखिने सस्ता सामग्रीमा हामी बढी आकर्षित हुने गर्छौँ । तर, वास्तविकतामा त्यस्तो केही हुँदैन, बरु पैसा तिरेपछि ग्राहकले ठगिएको मात्र महसुस गर्छन् ।
त्यसैले सामाजिक सञ्जालमा विज्ञापन हेरेर तुरुन्तै विश्वास गरी किनमेल गर्ने गल्ती गर्नुहुँदैन । सोसल मिडिया प्लेटफर्मको विश्वसनीयता पनि जाँच गर्नुपर्छ । सामाग्री खरिद गर्दा कुन कम्पनीको हो, किन सस्तो पाइयो, कस्तो सामाग्री हो भन्ने कुरा ख्याल गर्नुपर्छ ।
३. पैसा भुक्तानी गर्दा सावधान रहने
किनमेल गर्दा अधिकतम ध्यान दिनुपर्ने अर्को कुरा भुक्तानीमा पनि हो । तर यही क्षणमा गल्ती भयो भने ठगियो भनी बुझ्नुपर्छ । भुक्तानी गर्न, मास्टर कार्ड वा भिसा कार्डहरू मात्र प्रयोग गर्नुपर्छ र सम्भव भएमा, सधैँ क्यास अन डेलिभरी (सीओडी) को विकल्प रोज्नुपर्छ ।
साथै ओपन बक्स डेलिभरीले घोटालाबाट पनि बचाउन सक्छ । जुनसुकै उत्पादन अनलाइन अर्डर गरेको छ, त्यसलाई डेलिभरी दिने व्यक्तिको अगाडि जाँच गर्नुपर्छ ।
४. किनमेल साइटका नियम र सर्तहरू ध्यानपूर्वक पढ्ने
सपिङ साइटका आ–आफ्नै नियम र सर्तहरू हुन्छन्, जसलाई पढ्नु प्रत्येक ग्राहकको दायित्व हो । जस्तै- धेरै पटक ग्राहकलाई लोभ्याउन आकर्षक डिलहरू देखाइन्छ र ग्राहकहरू त्यसमा फस्छन्, तर यी कम्पनीहरूले नियम र सर्तहरूमा वास्तविक खेल खेल्छन्, जुन कसैले पढ्दैनन् ।
यसको बेफाइदा भनेको ग्राहकले डेलिभरीको समयमा बढी पैसा तिर्नुपर्छ । किनभने कम्पनीहरूले आफ्नो नियममा यी सबै लेखिसकेका छन् । तसर्थ, किनमेल गर्नुअघि ई–कमर्श साइटका नियम र सर्तहरू पढ्नुपर्छ ।
५. सामानको विवरण र समीक्षा पढ्ने
अनलाइन सपिङको एउटा ठूलो चुनौती भनेको सामान छुन वा जाँच्न नपाउनु हो । त्यसैले, सामानको विवरण फोटो र ग्राहक समीक्षा राम्ररी पढ्नु जरुरी छ । सस्तो मूल्यको लोभमा परेर गुणस्तरमा सम्झौता गर्नुहुँदैन ।
यदि कुनै सामानको समीक्षा नराम्रो छ वा कुनै समीक्षा नै छैन भने त्यसलाई किन्ने कि नकिन्ने भनेर पुन विचार गर्नुपर्छ । साथै, फोटोमा देखाइएको र वास्तविक सामान फरक हुन सक्ने सम्भावनालाई पनि ध्यानमा राख्नुपर्छ ।
६ .मूल्य र छुटको तुलना गर्ने
अनलाइन सपिङमा छुट र अफरको लोभ देखाएर ग्राहकलाई फसाउने चलन पनि छ । एउटा सामानको मूल्य अन्य वेबसाइट वा बजारमा कति पर्छ भनेर तुलना गर्नुपर्छ ।
कहिलेकाहीँ ५० प्रतिशत छुट भनिए पनि मूल मूल्य बढाएर छुट देखाउने प्रचलन हुन्छ । त्यसैले, मूल्यको वास्तविकता जाँच्नु महत्त्वपूर्ण हुन्छ । साथै, डेलिभरी शुल्क र अन्य लुकेका खर्चहरू पनि हिसाब गर्न बिर्सनु हुँदैन ।
७. डेलिभरी समय र सामान फिर्ता गर्ने नीति बुझ्ने
सामान कहिले डेलिभरी हुन्छ र कुनै समस्या परेमा फिर्ता गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा पहिल्यै थाहा पाउनुपर्छ । कतिपय वेबसाइटले २४ घण्टामा डेलिभरी भन्छन्, तर ढिला हुने गर्छ ।
त्यस्तै, सामान फिर्ता गर्ने समय सीमा ७ दिन वा १५ दिन राखेका हुन्छन् त्यो पनि बुझ्नुपर्छ । यदि सामान बिग्रिएको वा फरक आयो भने फिर्ता प्रक्रिया कस्तो छ भनेर पनि बुझ्नु जरुरी छ ।
८. व्यक्तिगत जानकारीको सुरक्षा गर्ने
अनलाइन सपिङ गर्दा नाम, ठेगाना, फोन नम्बर र बैङ्क विवरण जस्ता जानकारी दिनुपर्छ । तर, आवश्यकभन्दा बढी जानकारी माग्ने साइटबाट सावधान रहनुपर्छ । ठगीबाट बच्न इमेल वा म्यासेजमा आएका शङ्कास्पद लिङ्कमा क्लिक गर्नुहुँदैन । साथै, आफ्नो पासवर्ड बलियो बनाउनुपर्छ र नियमित परिवर्तन गर्नुपर्छ ।
९. खाना अर्डर गर्दा विशेष सावधानी अपनाउने
अनलाइनबाट खाना खरिद गर्दा पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । खाना प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले अनलाइनबाट खाना खरिद गर्दा खाना कहाँबाट आउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ ।
कतिपय बिक्रेताले खानाको गुणस्तरमा ध्यान दिएका हुँदैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यलाई असर गरेको हुन्छ । त्यसैले कुनै अनलाइनबाट खाना अर्डर गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ ।
१०. बजेट र आवश्यकतामा नियन्त्रण राख्ने
अनलाइन सपिङको सहजताले कहिलेकाहीँ अनावश्यक खर्च गराउँछ । छुट र अफरको लोभमा नचाहिने सामान किन्ने बानीबाट बच्नुपर्छ । कुनै पनि सामान किन्नुअघि के यो मलाई साँच्चै चाहिन्छ ? भनेर सोच्नुपर्छ । बजेट बनाएर मात्र सपिङ गर्नुपर्छ जसले आर्थिक बोझबाट पनि जोगाउँछ ।
+ There are no comments
Add yours