१४ चैत, काठमाडौं । आफूबारेको फिल्म ‘अञ्जिला’को प्रचारप्रसारका लागि अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बा शुक्रबार नेपाल आइपुग्ने भएकी छन् ।
कतार एयरवेजको जहाजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । ४ दिनको नेपाल बसाइमा उनले काठमाडौंसहित ९ सहरमा पुगेर फिल्मको प्रचारमा जुट्नेछिन् ।
शुक्रबारै उनले काठमाडौं, कीर्तिपुर र ललितपुरका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछिन् । त्यसपछि पोखरा, नेपालगञ्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर त्यहाँका हलमा दर्शकसँग भेट्नेछिन् ।
एन्जिलाको यसपटकको नेपाल भ्रमण विशुद्ध फिल्मको प्रचारमा मात्र केन्द्रित हुने निर्देशक मिलन चाम्सले जनाए । उनको जीवनको कथामा आधारित फिल्मले यतिबेला नेपालका हलमा राम्रो कमाइ गरिरहेको छ । शुक्रबारदेखि १९ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनको तयारी छ ।
फिल्मको शीर्ष भूमिकामा स्वयम एन्जिलाले अभिनय गरेकी छिन् । एन्जिला हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् । उनी त्यहाँको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् ।
सावित्रा भण्डारी साम्बापछि युरोपमा क्लब फुटबल खेल्ने एन्जिला दोस्रो नेपाली खेलाडी हुन् भने पहिलो नेपाली गोलकिपर हुन् ।
उनी गत महिना काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेलेर ग्रीस फर्केकी थिइन् ।
+ There are no comments
Add yours