१४ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलअघि साविक विजेता नेपाल पुलिस क्लबलाई हराएको छ ।
पुलिसको १८ खेलको अपराजित यात्रा तोड्ने क्रममा आर्मीले ४ विकेटको जित निकाल्दै फाइनलअघि राम्रो लय देखाएको हो । यसअघिको संस्करणमा फाइनलसहित १० खेल तथा यस संस्करणमा यहाँसम्म आइपुग्दा ८ खेल लगातार जितेको पुलिसको यात्रामा ब्रेक लागेको हो ।
पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । विवेक यादव ४१ रनमा अविजित रहे भने तृतराज दासले २५, भीम सार्कीले २३ र सन्तोष कार्कीले २२ रन बनाए ।
पुलिसका ललित राजवंशीले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र करण केसीले १-१ विकेट लिए ।
त्यसअघि एक्स्ट्राटेक ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको थियो । कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए । आरिफ शेखले २२, गुल्शन झाले १७ र सागर ढकालले अविजित १६ रन बनाए ।
आर्मीका शाहब आलमले १० ओभरमा ३१ रन दिएर ४ विकेट लिए । नरेन साउदले ७ ओभरमा १६ रन दिएर ३ विकेट लिए । कुशल मल्ल र भीम सार्कीले १-१ विकेट लिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहिसकेका स्पीनर शाहबले पीएम कपमा १०० विकेट पूरा गरेका हुन् । शाहब पीएम कपमा १०० रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पुलिसका ललित राजवंशीले अघिल्लो खेलमा उक्त कीर्तिमान पूरा गरेका थिए ।
ललितको ४३ खेलमा १०७ विकेट छ भने शाहबले ४९ खेलमा १०३ विकेट पुर्याएका छन् ।
अब शनिबार यी दुई टोलीबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
+ There are no comments
Add yours