१४ चैत, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउने अभियान सञ्चालन गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ जना आबद्ध भइसकेकाे गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक गत फागुन २६ गते ९९ जना श्रमिक कोषमा आबद्ध भएका छन् ।
अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकले तोकिएको मासिक १० हजार ८२० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् १ हजार १९० र गाउँपालिकाले १ हजार १४ गरी २ हजार २०४ रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा श्रमिकलाई कोषमा आबद्ध गराउन २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आवमा १३ लाख रुपैयाँ बजेटबाट श्रमिकलाई कोषमा आबद्ध गराउने कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए ।
सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्थाको सुरक्षा योजनाबाट लाभान्वित हुने उनले बताए ।
श्रमिक दम्पती र कोषमा आबद्ध भएका परिवारका १८ वर्षमुनिका बालबालिका पनि विभिन्न योजनामा सहभागी भई उल्लेख सुविधा प्राप्त गर्ने उनले जानकारी दिए ।
यसैबीच, भीमफेदी गाउँपालिकाले सञ्चालन गरेको अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने योजनाको प्रक्रिया र अवस्थाबारे केही दिनअघि काठमाडौँ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, माडी नगरपालिका, शंखरापुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको टोलीले अध्ययन गरेको थियो ।
+ There are no comments
Add yours