गभर्नर रेसमा थपिँदै ‘धावक’ : नबिलका ढुंगानापछि राष्ट्र बैंककै कार्यकारी निर्देशक श्रेष्ठले पनि छाडे जागिर

१४ चैत, काठमाडौँ । नयाँ गभर्नर नियुक्तिको समय नजिकिँदै जाँदा यसको ‘रेस’ मा लाग्ने बैंकरहरूको पनि ताँती लागेको छ ।

समग्र बैंकिङ क्षेत्रको नियामक, देशको केन्द्रीय बैंकको नेतृत्व लिन दर्जनभन्दा बढी व्यक्तिले आ–आफ्नो तर्फबाट लबिइङसँगै दबाब बढाएका छन् ।

गर्भनर बन्ने दाउसहित हुँदाछँदाको जागिर नै छाडेर बैंकरहरू लाइनमा लाग्ने क्रम तीव्र भएको छ । यसैबीच, राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि बुधबार राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका उनी त्यसयता काजमा आयोगमा कार्यरत छन् । उनले नयाँ गभर्नर बन्ने योजनासहित राजीनामा बुझाएका हुन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भएको छैन ।

मन्त्रिपरिषद्ले गभर्नर सिफारिसका लागि समिति बनाएपछि गभर्नरका आकांक्षीहरू थप सल्बलाएका हुन् ।

यसअघि नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाले पनि राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।

तर, कार्यकारी निर्देशक श्रेष्ठको भने राजीनामा स्वीकृत नभएको र गर्भनरको रेसबाट आउट भएको अवस्थामा यथावत् पदमा फर्किन सक्ने बाटो खुला राखिएको राष्ट्र बैंक उच्च स्रोत बताउँछ ।

उनी यसअघिको सरकारमा विष्णु पौडेल अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए । उनै पौडेलको संयोजकत्वमा सिफारिस समिति बनेपछि आएको उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री भएका बेला पनि प्रदेश अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार थिए । यस्तै, प्रदेश योजना आयोगको अध्यक्षसमेत भएर काम गरिसकेका उनलाई गभर्नरको बलियो दाबेदारमध्येकै मानिएको छ ।

तर, गभर्नर नियुक्तिमा विभिन्न क्षेत्रका स्वार्थ समूह हाबी हुने भएकाले १८औँ गभर्नरमा कसले बाजी मार्छ भन्ने हेर्न भने केही दिन अझै कुर्नुपर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours