‘म्यारिज’को झल्को दिने गभर्नरको खेल : ‘सिक्वेन्स’ मिलाउँदै बिचौलिया, ‘शो’ गर्ने तयारीमा सरकार, कसले मार्ला बाजी ?

‘आउट अफ द बक्स’ का पात्र खोज्न विज्ञको सुझाव

१३ चैत, काठमाडौँ । तासमा लोकप्रिय खेल हो– ‘म्यारिज’ । सामान्यतः ४–५ जनाको समूहले आफूसँग भएको तासको ‘सिक्वेन्स’ मिलाउने, सो गर्ने र आफूलाई परेको ‘माल’ अर्थात् दाउका आधारमा जित्ने यस खेलको सामान्य नियम हो । जसको सिक्वेन्स छिटो र बलियो गरी मिल्यो, उसले बाजी मार्छ ।

अहिले ठ्याक्कै त्यस्तै अवस्था छ – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा । गभर्नर निकै उत्कृष्ट र वजनदार पद हो ।

देशको केन्द्रीय बैंक, पैसा छाप्ने तथा समग्र बैंक तथा वित्तीय संस्थाको नियामकका रूपमा स्वायत्त संस्था भएकाले पनि गभर्नर यसमा बलवान् हुन्छन् । नोटमा हस्ताक्षर गर्ने यस्तो पदमा कस्तो व्यक्ति आउलान् ? सबैलाई चासो हुन्छ नै ।

अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ मा सकिँदै छ । उनी कार्यकाल सकिनुअघि नै विगत केही दिनदेखि बिदामा बसिसकेका छन् ।

सरकारले सोमबार गभर्नर नियुक्तिका लागि औपचारिक रूपमा समिति गठन गरेको छ । अब सरकारले औपचारिक रूपमै उपयुक्त पात्रको खोजी गरी गभर्नरका सम्भावित व्यक्तिहरूको नाम लिनेछ ।

यसका लागि समितिले गठन भएकै दिनदेखि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । समितिले निष्पक्ष रूपमा केन्द्रीय बैंकलाई सक्षम नेतृत्व दिने निर्णय गर्ला कि नगर्ला भन्ने चासो व्याप्त छ ।

किनकि गभर्नरमा आफ्नो मान्छे लैजान विभिन्न स्वार्थ समूह सक्रिय छन् भने राजनीतिक दलहरू पनि आफूनिकटलाई केन्द्रीय बैंकको नेतृत्व सुम्पिन कसरत गरिरहेका छन् ।

अब यहाँ तासको म्यारिजलाई सम्झौँ । सरकारले तास खेल्न अनौपचारिक रूपमा अनुमति दिएको जस्तो देखिन्छ ।

आफ्नो मान्छेलाई गभर्नर बनाउन चलखेल गर्न थालेका विभिन्न समूहहरूलाई म्यारिजका खेलाडी मानौँ । आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन लबिइङ गरिरहेको उनीहरूको क्रियाकलापलाई गभर्नर कसलाई बनाउने भनेर ‘सिक्वेन्स’ मिलाइरहेको रूपमा बुझ्न सकिन्छ ।

यसैबीच, सरकार पनि गभर्नर पदमा बार्गेनिङ गरिरहेको छ । राजावादी सलबलाइरहेको समयमा सरकार जतिसक्दो छिटो गभर्नर नियुक्ति टुंगो लगाउने मुडमा छ ।

सम्भवतः सिफारिस समितिले केही दिनमै गभर्नरका लागि ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस भएका मध्येबाट १ जना गभर्नर नियुक्त हुनेछन् ।

कुन–कुन समूहले मिलाउँदै छन् ‘सिक्वेन्स’ ?

कसलाई गभर्नर नियुक्त गर्ने भन्नेमा बिचौलिया र सरकारबीच रस्साकस्सी चलिरहेको छ । बिचौलिया, राजनीतिक दल र सरकार पक्षले गभर्नरका लागि आफ्ना पक्षका व्यक्तिलाई अगाडि सारिरहेका छन् ।

उनीहरूले विभिन्न पक्षसँग छलफल गर्ने, स्वार्थ हिसाबकिताब गर्ने र गभर्नरका लागि ‘सिक्वेन्स’ मिलाउने काम गर्दै आएका छन् ।

अहिले सबैभन्दा बढी चर्चामा रहेको समूह हो– दीपक भट्ट समूह । व्यावसायिक पृष्ठभूमिका भट्ट–अग्रवाल समूहले चयन गरेका व्यक्तिहरू अन्य नियामक निकायमा पनि रहेकाले गभर्नरमा पनि आफू निकटलाई ल्याउन सरकारलाई सो समूहले प्रलोभनसहितको दबाब दिइरहेको छ ।

तटस्थ रूपमा अघि बढेका व्यक्तिहरू भने यस किसिमको क्रियाकलापलाई ‘झ्यारझ्यार’को संज्ञा दिन थालेका छन् ।

आकांक्षीमध्येका १ जनाले नोटबजारसँगको कुराकानीमा नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएको बताए । ‘पछिल्ला दिनका गतिविधिले नाम सिफारिसदेखि नियुक्तिसम्मको प्रक्रिया स्वःस्फूर्त हुनेमा विश्वस्त हुन सक्ने अवस्था रहेन,’ उनले भने ।

सरकारका उच्च पदस्थ अधिकारी स्तरसम्म ‘फ्रेन्डसिप’ मा रहेको भट्ट समूहले जुनसुकै हालतमा गभर्नरमा आफू निकटलाई राख्न दबाब दिइरहेको पाइन्छ ।

यस्तै, एफवान् सफ्ट समूह पनि आफू निकटको व्यक्तिलाई गभर्नर बनाउन लागिपरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकता दिने र आफ्नो पकड झनै बलियो बनाउने स्वार्थसहित यो समूह गभर्नरका लागि माथिल्लो स्तरसम्मै लबिइङमा छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ पनि नयाँ गभर्नरको लबिइङमा छ । यस संगठनले पनि व्यापार सहजीकरण गर्ने, उद्योगधन्दालाई थप लचिलो बनाएर अगाडि बढ्न दिनेलगायत नीतिगत सहजता गराउने ध्येयले गभर्नरमा नयाँ व्यक्ति अगाडि सारिरहेको छ ।

नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले पनि निजी क्षेत्रलाई सहज हुने किसिमले गभर्नरमा दबाब दिइरहेका छन् ।

यस्तै, चौधरी ग्रुप पनि आफू निकटको व्यक्तिलाई गभर्नरका लागि अगाडि बढाउने दाउमा छ । उच्च स्तरीय पहुँच भएको यस समूहले आफू निकटको व्यक्तिलाई गभर्नर बनाउन निकै दबाब दिइरहेको छ ।

निजी क्षेत्रबाट विभिन्न किसिमका लबिइङ भइरहेको अवस्थामा राजनीतिक दलहरूले पनि गभर्नर पदलाई बढी महत्वका साथ हिसाबकिताब गरिरहेका छन् ।

पार्टीभित्रका विभिन्न समूहले पनि गभर्नरमा फरक–फरक व्यक्तिलाई उभ्याइरहेका छन् ।

नेपाली कांग्रेसमा आरजु देउवा ‘फ्याक्टर’ हाबी हुँदा कोइराला समूह पनि आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन दबाब दिइरहेको छ ।

कांग्रेस संस्थापन र इतर पक्षले फरक–फरक व्यक्तिलाई गभर्नर बनाउन लबिइङ गरिरहेका छन् ।

एमालेभित्र पनि गभर्नरका लागि फरक–फरक पात्र अगाडि सारिएका छन् । एमालेमा प्रधानमन्त्री केपी ओली पक्ष र विद्या भण्डारी पक्षले फरक–फरक व्यक्तिलाई उम्मेदवार उभ्याएका छन् ।

यस्तै, अहिले प्रमुख प्रतिपक्षी दल रहेको माओवादी केन्द्रले पनि आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन सरकारसँग ‘बार्गेनिङ’ गरिरहेको छ ।

यसबाहेक अन्य विभिन्न सांसदहरूको समूह, व्यापारिक समूह तथा एजेन्सीहरूले आफू अनुकूलका व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई दबाब दिइरहेका छन् ।

यसरी गभर्नर बनाउन विभिन्न समूहबाट व्यक्तिहरू अगाडि सारिनु गलत अभ्यास भएको जानकारहरू बताउँछन् । गभर्नर पदलाई राजनीतिक र स्वार्थ केन्द्रित पद बनाइन नहुने एक पूर्वबैंकरले बताए ।

स्वतन्त्र व्यक्तिलाई गभर्नर नबनाएर स्वार्थ प्रेरित व्यक्ति खोज्दा केन्द्रीय बैंकको गरिमामा आँच आउने उनले बताए ।

यसले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि धमिलो हुने, केन्द्रीय बैंकको भूमिकामा प्रश्न उठ्ने, दबाबरहित तरिकाले गभर्नरले काम गर्न नसक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

यस्तै, राजनीतिमा सबै क्षेत्रमा हस्तक्षेप गर्ने, दुश्मनी साँध्ने, काम गर्न नदिने प्रवृत्ति बढ्दो क्रममा रहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

अहिले नेपाल राजनीतिक र व्यापारिक क्षेत्रको स्वार्थ पूर्ति हुने किसिमले गभर्नर नियुक्ति गर्दा मुलुक सम्पत्ति शुद्धीकरण निवारणमा कमजोर भइरहेको अवस्थाबाट बाहिर निस्कन नसक्ने उनी बताउँछन् । अहिले गैरराजनीतिक शक्ति केन्द्र हाबी भइरहनु दुःखद् भएको उनको भनाइ छ ।

यस्तै एक पूर्वगभर्नरले पनि पछिल्लो समय भइरहेको ‘सिक्वेन्स’ मिलाउने खेल गलत अभ्यास भएको टिप्पणी गरे ।

नोटबजारसँग कुरा गर्दै उनले अहिले स्वार्थ प्रेरित व्यक्तिलाई गभर्नर बनाइए भोलिका दिनमा मुलुक सम्पत्ति शुद्धीकरणको झन् जटिल अवस्थामा फस्न सक्ने औँल्याए ।

राष्ट्र बैंकलाई स्वायत्त बनाउन नसक्दा यसबाट समग्र अर्थतन्त्रसमेत प्रभावित हुने उनको भनाइ छ ।
अहिले मुलुकको अर्थतन्त्रमा सुस्तता छाएको, बैंकिङ प्रणाली दबाबमा रहेको तथा सम्पत्ति शुद्धीकरण निवारणमा मुलुक कमजोर बनेको अवस्थाबाट मुलुकलाई माथि उठाउन ‘आउट अफ द बक्स’बाट गभर्नर बनाइनुपर्ने विज्ञहरूको जोड छ ।

‘अहिले विभिन्न स्वार्थ समूहले आफ्नो स्वार्थ मिल्ने व्यक्तिलाई गभर्नर बनाउन दबाब दिइरहेको समयमा सरकारले कौशलतापूर्वक यीबाहेकका विज्ञ व्यक्तिलाई गभर्नर बनाउनुपर्ने हुन्छ,’ अर्का एक पूर्वगभर्नरले भने, ‘यसले समग्र अर्थतन्त्र र मुलुकको हित गर्छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours