लय समात्दै निर्माण क्षेत्र : सिमेन्ट उद्योगमा बढ्यो लगानी, असारे विकासका लागि अझै बढ्ने आकलन

१३ चैत, काठमाडौँ । चालु आर्थिक वर्षमा निर्माण क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा रहेको देखिएको छ ।

निर्माण क्षेत्रले क्रमशः गति लिँदा असार मसान्तसम्ममा अर्थतन्त्रमा यसको प्रभाव राम्रै देखिने जानकारहरू बताउँछन् ।

चालु आवको माघसम्ममा सिमेन्ट उत्पादनतर्फ बैंकहरूले कर्जा लगानी ४.१ प्रतिशतले बढाएका छन् ।

गत आवको ७ महिनामा १.७ प्रतिशतले बढेको यस क्षेत्रको कर्जा चालु आवको सोही अवधिमा ४.१ प्रतिशतले बढेको हो ।

यस तथ्यांकले निर्माण क्षेत्र चलायमान बन्न लागेको र सिमेन्टको उत्पादनसँगै खपत पनि बढ्न थालेको देखाउँछ । सिमेन्टतर्फ उत्पादन र बिक्री बढ्न थालेसँगै उद्योगीहरूले ऋण लिएर लगानी गर्ने क्रम बढेको हो ।

केन्द्रीय बैंकका अनुसार गत आवको माघसम्ममा सिमेन्टतर्फ १ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा चालु आवको माघसम्ममा त्यो बढेर १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ९ प्रतिशतले बढेको छ ।

चालु आवको ७ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड (५.६ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको थियो ।

मौद्रिक नीतिले निजी क्षेत्रमा चालु आवमा साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । तर, ७ महिनासम्ममा ५.६ प्रतिशतले मात्रै कर्जा वृद्धि भएको छ । यो वृद्धिले निर्माण क्षेत्रलाई टेको दिएको देखाउँछ ।

यी तथ्यांकले अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको संकेत गरेको छ । अब नयाँ त्रैमास पनि नजिकिएको र असारे विकासले प्राथमिकता पाउने हुँदा यस क्षेत्रमा कर्जा अझै बढ्ने जानकारहरू बताउँछन् ।

निर्माण क्षेत्रको कर्जा बढ्दा यसले अर्थतन्त्रलाई पनि गतिशील बनाउन सहयोग गर्ने उनीहरूको बुझाइ छ ।

पछिल्लो समय बैंकहरूको ब्याजदर घटिरहेको छ । बैंकको आधार दर तथा कर्जाको ब्याजदर घट्दै जाँदा कर्जा लिनेको संख्या पनि बढेको छ ।

गत आवको पहिलो ७ महिनासम्ममा ९.०६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६ प्रतिशतमा झरेको छ ।

यस्तै, विकास बैंकको ११.१३ प्रतिशतबाट घटेर ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको १२.७० बाट घटेर ९.३९ प्रतिशत औसत आधार दर भएको छ ।

२०८१ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंकहरूको ९.९० प्रतिशत र वित्त कम्पनीहरूको १०.८८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

निर्माण क्षेत्रमा कर्जा बढ्दै गए पनि त्यसको नतिजा देखिन भने केही समय लाग्ने जानकारहरू बताउँछन् ।

पछिल्ला दिनहरूमा सडक मर्मत, आवासीय तथा व्यावसायिक भवन निर्मााण हुने क्रम बढ्दै गएको देखिन्छ । यसले पनि कर्जा प्रवाह बढ्न सहयोग गरेको हो ।

निर्माणका काम चौथो त्रैमासमा झनै बढ्ने र त्यसले केही हदसम्म कर्जा प्रवाह बढाउन भूमिका खेल्ने देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours