१३ चैत, काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत भएको छ ।
उनको राजीनामा स्वीकृत भएसँगै कायममुकायम कार्यकारी प्रमुखकाे जिम्मेवारी वरिष्ठ डिसिइओ रहेका मनोज ज्ञवालीले पाएका छन् ।
यससँगै नबिलको सिइओमा ज्ञवालीका लागि लगभग लाइन क्लियर भएको अनुमान गरिएकाे छ । यदि बाहिरबाट सिइओ नल्याएको अवस्थामा उनले नै फुल सिइओ पाउने बैंक स्राेत बताउँछ । त्यसकै लागि उनलाई कामु सिइओ बनाइएकाे चर्चा छ ।
नबिल बैंक स्रोतका अनुसार हाल कार्यरतबाटै नयाँ सिइओ बनाउने सम्भावना छ । त्यसका लागि मुख्य दाबेदारका रूपमा रहेका डिसिइओद्वय सुजित शाक्य र मनोज ज्ञवालीमध्ये ज्ञवालीले कामुमा बाजी मारेपछि आगामी सिइओमा उनकाे सम्भावना थप बलियाे बनेकाे हाे ।
यसअघि हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एसिया, एनआइसी एसिया, सिभिल, जनता बैंक, ग्लोबल आइएमईलगायत बैंकमा कुशलतापूर्वक काम गरेको अनुभव भएका शाक्यलाई पहिलो दाबेदारका रूपमा हेरिए पनि कामुकाे जिम्मेवारी पाउन उनी पछि परेका हुन् ।
कामु सिइओ बनेका ज्ञवाली सफल बैंकरमा गनिन्छन् । ज्योति विकास बैंकको सिइओ छाडेर नायब महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका उनी ४ वर्षको बीचमै महाप्रबन्धक, डेपुटी सिइओ, वरिष्ठ डेपुटी सिइओ हुँदै कामु सिइओ बनेका हुन् ।
छोटो अवधिमै आकर्षक बढुवामा पर्दै गएका ज्ञवाली नयाँ सिइओ बन्ने सम्भावना बलियो बनेको हो । यद्यपि सिइओ नियुक्तिमा बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीको ‘इन्ट्रेस्ट’ र सञ्चालक समितिकाे गर्ने निर्णयमा भर पर्नेछ ।
+ There are no comments
Add yours