१२ चैत, काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपिओ मंगलबार बिहान बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपिओ बाँडफाँट भएको हो।
कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको र बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आइपिओ बाँडफाँट गरिएको थियो।
जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।
+ There are no comments
Add yours