पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा २५ दिनदेखि ताला

१२ चैत, विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ ।

उपप्राध्यापक पदमा बढुवाका लागि निकालेको विज्ञापन गैरकानुनी भएको दाबी गर्दै नेविसंघले १७ फागुनदेखि तालाबन्दी गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशप्रसाद दाहाल चैत २१ पछि अवकासमा जाँदेछन् । कार्यकालको अन्त्यमा उनले कर्मचारी र शिक्षक बढुवा गर्न खोजेका थिए ।

अधिकांश कर्मचारीको बढुवा भइसकेको छ । उपप्राध्यापक बढुवाका लागि फागुन १८ गते अन्तरवार्ताको मिति तोकिएको थियो । तर नेपाल विद्यार्थी संघले अघिल्लो दिन तालाबन्दी गरेपछि प्रक्रिया रोकिएको हो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक भट्टराईका अनुसार नयाँ कार्यविधि बनेपनि पुरानै कार्यविधि अनुसार बढुवा सूचना निकालेपछि ताला लगेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० अनुसार सञ्चालन हुन्छ । ऐनका आधारमा पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ जारी भएको छ ।

२०७८ मा बसेको विश्वविद्यालयको ३५औ सभाले विश्वविद्यालयको नियमावलीलाई संसोधन गरेको थियो ।

संशोधित नियमावली अनुरुप शिक्षक छनौट गर्नु पर्ने भएपनि सेवा आयोगले पुरानै पाँचौं सभाले बनाएको नियमावलीका आधारमा प्रक्रिया अघि बढाएको नेविसंघको दाबी छ । उपप्राध्यापकको विज्ञापन गैरकानुनी विज्ञापन सच्याउनुपर्ने विद्यार्थीको माग छ ।

भट्टराईका अनुसार संसोधित नियमावलीमा उप-प्राध्यापक पद सबै विज्ञापन खुला गर्नुपर्ने उल्लेख छ। ‘तर सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतियोगिता अन्तर्गत राखिएको छ,जुन कानुन सम्बत छैन,’ उनले भने।

तालाबन्दी अघि नेविसंघले संशोधित नियमावली अनुसार प्रक्रिया अघि बढाउन भनेको थियो। तर सेवा आयोगले पुरानै निमावलीका आधारमा प्रक्रीया अघि बढाएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours