१२ चैत, काठमाडाैं । सोसल मिडियाको अत्यधिक प्रयोगले मानिसमा विभिन्न खालका मनोवैज्ञानिक तथा शारीरिक समस्याहरू निम्त्याउने गरेको विभिन्न अध्ययनबाट पुष्टि भैसकेको छ । तर, अब पछिल्लो प्रविधिको रुपमा रहेका आर्टिफिसियल इन्टेलिजेन्सको अत्यधिक प्रयोग समेत हानिकारक हुने देखिएको छ ।
ओपन एआईले आफ्नो बहुचर्चित तथा लोकप्रिय एआई च्याटबट च्याट जिपिटी सार्वजनिक गरेको २ वर्ष भैसकेको छ । सुरुवातदेखि नै संसारमा तहल्का मच्चाइरहेको च्याट जिपिटीका साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड नाघिसकेको छ ।
च्याट जिपिटी निकै उपयोगी एआई प्लाटफर्म हो । यसले हाम्रो कार्यजीवनलाई थप उत्पादनमूलक बनाउन सहयोग गरेको छ । च्याट जिपिटीका सकारात्मक पक्षमात्रै छैनन् । यसको अत्यधिक प्रयोगले हामीलाई एकलकाटे बनाउँदै लगेको छ ।
ओपन एआई र एमआइटी मिडिया ल्याबका अनुसन्धानकर्ताहरुले गरेको संयुक्त अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुले च्याट जिपिटीसँग भएका दशौंलाख च्याट वार्तालाप तथा हजारौं अडियो अन्तरक्रियाको विश्लेषणका साथै च्याट जिपिटीमा आफ्नै आनीबानीको बारेमा बताएका चार हजार प्रयोगकर्ताको अनुगमन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।
त्यसैगरी एमआइटी मिडिया ल्याबले एक अर्को अध्ययनमा एक हजार जना मानिसहरुले चार हप्तासम्म कसरी च्याट जिपिटीसँग निकै अन्तरंग अन्तरक्रिया गरे भन्ने कुराको विश्लेषण गरे । त्यसक्रममा शोधकर्ताहले टेक्स्ट तथा भ्वाइस संवादहरु संकलन गरे । त्यसबाट प्राप्त परिणाम असामान्य हो, किनकि एक्लोपन तथा सामाजिक अलगावको भावना प्रायः परिवर्तन भैरहन्छ र विभिन्न कारकहरुबाट प्रभावित हुन्छ ।
यद्यपि शोधकर्ताहरुको के ठहर छ भने शक्ति प्रयोगकर्ताहरुको समूहमा च्याट जिपिटीको प्रयोगले एक्लोपनको भावनामा वृद्धि गर्दछ ।
उक्त शोधपत्रमा लेखिएको छ – हाम्रो विश्लेषणबाट के पत्ता लागेको छ भने कतिपय च्याट जिपिटी प्रयोगकर्ताहरुले असामान्य रुपमा ठूलो परिमाणमा संवेगात्मक तथा मनोभावनात्मक प्रतिक्रियाहरु व्यक्त गर्ने गरेका छन् ।
अध्ययनका क्रममा कतिपय प्रयोगकर्ताले च्याट जिपिटीमा लामो समय बिताउने गरेको पनि पाइएको छ। त्यसरी दैनिक रुपमा च्याट जिपिटीका अधिक प्रयोग गर्नेहरुमा उच्च मात्राको एकलकाटेपना, निर्भरता, सामाजिकीकरणको न्यूनता तथा च्याट जिपिटीको गलत प्रयोगको समस्या देखिएको छ ।
साथै प्रयोगकर्ताले च्याट जिपिटीमा टेक्स्ट च्याट गर्नेको साटो भ्वाइस मोडमा प्रयोग गर्नेहरुमा एक्लोपनाको समस्या कम देखिने गरेको भएपनि सुरुमै एक्लोपनाको सिकार रहेका मानिसहरुले समेत च्याट जिपिटीमा अत्यधिक भ्वाइस च्याट गर्दा उनीहरुको समस्या झनै बढ्ने गरेको पाइयो ।
+ There are no comments
Add yours