१२ चैत, काठमाडाैं । आफ्नो नयाँ संस्करणको आइफोन (आइफोन १६) का विषयमा गलत विज्ञापन गरेर प्रयोगकर्ताहरुलाई गुमराहमा राखेको भन्दै एप्पल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।
सान जोसस्थित जिल्ला अदालतमा गत बुधबार दायर गरिएको मुद्दामा एप्पलले आइफोन १६ सिरिजमा एप्पल इन्टेलिजेन्स फिचर उपलब्ध हुने भनेर झुटो विज्ञापन गरेको तर वास्तविक रुपमा हालसम्म पनि आइफोन १६ सिरिजका फोनमा त्यस्तो एआई फिचर उपलब्ध नगराएको भनी एप्पलविरुद्ध धोकाधडी तथा गलत विज्ञापन गरेको आरोप लगाइएको छ ।
आइफोन रिलिज हुनुपूर्वको मार्केटिक अभियानका बेला एप्पलले सेप्टेम्बरमा रिलिज हुने आइफोन १६मा एआई फिचर हुने भन्दै अभूतपूर्व उत्साह र उपभोक्तामा उल्लेख्य अपेक्षाको सिर्जना गरेको पनि उक्त निवेदनमा भनिएको छ ।
एप्पलले उसको बहुप्रतिक्षित एप्पल इन्टेलिजेन्सलाई आइफोनमा ल्याउनका लागि अझै थप समय लाग्ने घोषणा गरेको केही दिनपछि नै कम्पनीविरुद्ध मुद्दा दायर भएको हो ।
मार्च महिनाको सुरुवातमा एप्पलले भनेको थियो- उक्त फिचरलाई सुरुवात गर्नका लागि हामीलाई यसअघि सोचेकोभन्दा लामो समय लाग्ने देखिएको छ । यो फिचर आगामी वर्षमात्रै सुरुवात हुने अपेक्षा हाम्रो छ ।
आइफोनमा आउने नयाँ फिचरमा अधिक पर्सनलाइज्ड सिरी पनि एक हो । जसले प्रयोगकर्ताको डिभाइसमा रहेका जानकारीहरुका आधारमा प्रश्नहरुको जवाफ दिनसक्छ र तपाईंले उक्त सामाग्री आफ्नो फोनमा कहाँ छ भन्ने याद गरिरहनु पर्दैन ।
आइफोनमा एप्पल इन्टेलिजेन्स फिचर ल्याउनका लागि ढिलाई भएको स्वीकार गर्दै एप्पलले हालै एप्पल इन्टेलिजेन्समा काम गर्नका लागि नयाँ टिमको घोषणा गरेको छ ।
तर एप्पलको झुटो आश्वासनका कारण ठगिएको महसुस गरेका निवेदनकर्ता कम्पनीविरुद्ध अदालतमा गए । उनको निवेदनमा भनिएको छ- एप्पलले आफ्नो उक्त कार्यबाट करोडौं प्रयोगकर्तालाई झुक्याएको छ र अस्तित्वमै नरहेका फिचरहरुको लोभ देखाएर आवश्यक नै नपर्ने फोन किनाएको छ ।
एप्पलले धेरैवटा गलत विज्ञापनमार्फत् उपभोक्ता संरक्षण कानूनको उल्लंघन गरेको निवेदनमा उल्लेख गरिएको छ ।
साथै हुँदै नभएका एआई फिचरको विज्ञापन गरेर एप्पलले एआई फिचर नभएका वा प्रतिबद्धता अनुसारका एआई फिचर उपलब्ध गराउने अन्य स्मार्टफोन कम्पनीसँगको प्रतिबद्धतामा अनुचित लाभ हासिल गरेको पनि दाबी गरिएको छ ।
निवेदकले झुटो विज्ञापनका लागि एप्पलमाथि कारबाही गर्न र त्यस्तो विज्ञापनका आधारमा आइफोन १६ खरिद गरेका प्रयोगकर्तालाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
स्मरण रहोस् गत जुन महिनामा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सका बेला एप्पलले आफ्नो एआई टूल एप्पल इन्टेलिजेन्सको घोषणा गरेको थियो र एआईमा आधारित सेवापनि प्रदर्शन गरेको थियो ।
उक्त एआई फिचर आफ्नो आगामी आइफोन १६ सिरिजका डिभाइसमा आबद्ध गरिने पनि एप्पलले बताएको थियो ।
आइफोन १६ मा उपलब्ध गराइने एआई फिचरको एक डेमो पनि एप्पलले देखाएको थियो । जसमा एआई फिचरयुक्त इनोभेटिभ तथा अद्यावधिक सिरीको घोषणा गरिएको थियो ।
साथै नयाँ अपरेटिङ सिस्टम आईओएस १८.४ को अपडेटसँगै नयाँ एप्पल इन्टेलिजेन्स फिचरयुक्त सिरी उपलब्ध हुने पनि बताइयो । तर, एप्पलले समय सीमाभित्र एप्पल इन्टेलिजेन्स फिचर ल्याउन सकेन र उक्त प्रोजेक्टलाई अनिश्चितकालका लागि रोक्यो ।
+ There are no comments
Add yours