एउटै लौकाको मूल्य ५ हजार रुपैयाँ, महिनामा ४० हजारसम्म लोका बेचेर कमाउँछिन् हिमादेवी

१२ चैत, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् ।

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन् । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो ।

सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने बताइन् ।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताए । ‘अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो ६ कट्ठा मात्र जमिन छ । बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ’, उनले भने ।

बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उनले अहिले भने ५० रुपैयाँमा बिक्री हुने बताइन् ।

उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गरिन् । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनले दैनिकजसो जाने गरिन् ।

भण्डारीले लौकाबाट मासिक ४० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको बताइन् । उनले भनिन्, ‘लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।’ छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उनले उल्लेख गरिन् ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन् । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गरिन् ।

‘दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ’, भण्डारीले भनिन् ।

उनका पति भुपूप्रहरी हुन् । पतिले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । ‘बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ’, उनले भनिन् ।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन् । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले बताइन् ।

दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन् । कृषिमा अर्ज्ञानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको बताइन् ।

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन् । प्रेसर, सुगरका बिरामीहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ ।

एउटै लौकाको पाँच हजार

भण्डारीले एउटै लौकाबाट पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिइन् । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन् । ५० रुपैयाँको तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन् ।

‘ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ’, भण्डारीले भनिन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours