समग्र कृषि क्षेत्रमा निराशा छाउँदा माछापालन र मासुजन्य व्यवसायमा उत्साह, बढ्याे कर्जा प्रवाह

११ चैत, काठमाडौँ । पछिल्लो समय नेपालको कृषि क्षेत्र माछापालन तथा मासुजन्य व्यवसायले धानेको देखिएको छ । यस क्षेत्रले कृषि क्षेत्रको निराशा चिर्न केही हदसम्म काम गरेको तथ्यांकले देखाउँछ ।

पछिल्ला वर्षहरूमा अर्थतन्त्रको सुस्तताका कारण कर्जा लगानी बढ्न सकिरहेको छैन । राष्ट्र बैंकका अनुसार निर्माण क्षेत्रमा यस्तो कर्जा बढ्दै गएको छ । तर, कृषि क्षेत्रमा जाने कर्जा भने तथ्यांकमा शून्य प्रतिशत पनि बढ्न सकेको छैन ।

समग्रमा कृषि क्षेत्रमा जाने कर्जाको अवस्था निराशाजनक देखिएको छ । चालु आवको ७ महिनासम्ममा हेर्ने हो भने कृषि क्षेत्रमा कर्जा निकै न्यून मात्रै गएको छ ।

जानकारहरू कृषि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा त्यसतर्फ कर्जा बढ्न नसकेको बताउँदै आएका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर लगानी बढाउने र त्यसतर्फ काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्लो समय ब्याजदर घटेपनि यस क्षेत्रतर्फ जाने कर्जा घटेको छ ।

माछापालनले जगायो कृषिमा आशा

समग्रमा कृषि क्षेत्रमा जाने कर्जा बढ्न नसकिरहेको अवस्थामा माछापालन तथा मासुजन्य (वध) क्षेत्रले भने आशा जगाएको छ ।

केन्द्रीय बैंकका अनुसार जंगल, माछापालन तथा मासुजन्य क्षेत्रमा भने उल्लेख्य कर्जा वृद्धि भएको छ ।

यस क्षेत्रमा २४.९ प्रतिशतले कर्जा बढेको केन्द्रीय बैंकले जनाएको हो । गत आवको ७ महिनामा यस क्षेत्रमा गएको कर्जामा २५.६ प्रतिशतले गिरावट आएको थियो । तर, चालु आवको सोही अवधिमा यस्तो कर्जा २४.९ प्रतिशतले बढेको हो ।

गत आवको माघसम्ममा २ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ कर्जा वनजंगल, माछापालन तथा मासुजन्य क्षेत्रमा गएको थियो । चालु आवको माघसम्ममा यो कर्जा बढेर ३ अर्ब १२ करोड २४ लाख रुपैयाँ पुगेको हो ।

यस अवधिमा कृषि क्षेत्रमा आशा जनाउनेमा जंगल, माछापालन तथा मासुजन्य व्यवसाय नै मुख्य देखिएको छ ।

पछिल्लो समय माछापालन तथा मासुजन्य व्यवसाय बढ्दै गइरहेको छ । यस्तो अवस्थामा ती वस्तुको खपत पनि बढिरहेकाले कर्जा प्रवाह बढ्न पुगेको हो ।

यसबाहेक अन्य कृषि तथा यससँग सम्बन्धित सेवातर्फ पनि कर्जा ३ प्रतिशतले बढेको छ । गत आवको ७ महिनामा यस क्षेत्रमा १ खर्ब ६२ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा चालु आवको ७ महिनासम्ममा यो बढेर १ खर्ब ६५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

यी २ क्षेत्रबाहेक कृषिका अन्य क्षेत्रमा कर्जा प्रवाह विस्तार घटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कृषि क्षेत्रतर्फ जाने कर्जाको वृद्धि शून्यप्रायः बनेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको साउनदेखि माघसम्ममा यस क्षेत्रमा अपेक्षित गतिमा कर्जा विस्तार नभएको हो ।

गत आवको सोही अवधिमा ०.८ प्रतिशत कृषि क्षेत्रमा जाने कर्जा बढेकामा चालु आवको सो अवधिमा झनै घटेको हो ।

कृषिमा पनि फार्मिङ वा त्यस्ता सेवाहरूमा जाने कर्जा ५.१ प्रतिशतले गिरावट आएको छ ।

गत आवको माघसम्ममा यस्तो क्षेत्रमा ९१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा चालु आवको सोही अवधिमा ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आवको सो अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।

यस्तै, चिया व्यवसाय पनि चालु आवमा सुस्ताएको छ । यस क्षेत्रको कर्जा प्रवाह गत आवको तुलनामा १० प्रतिशतले घटेको छ ।

गत आवको सात महिनासम्ममा चियातर्फ ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा चालु आवको सोही अवधिमा ४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

गत आव ४.९ प्रतिशतले गिरावट आएको यस्तो कर्जा चालु आवको माघसम्ममा झनै घटेर १० प्रतिशतको गिरावट भएको हो ।

यस्तै पशुपालनतर्फ जाने कर्जा ०.२ प्रतिशतले घटेको छ । गत आवको ७ महिनासम्ममा यस्तो कर्जा १ खर्ब ५६ अर्ब ८३ करोड रुपैयाँ विस्तार भएकामा यस वर्ष सोही अवधिमा १ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ कर्जा विस्तार भएको छ ।

गत आवमा यस्तो कर्जा विस्तार १.५ प्रतिशत बढेकामा चालु आवको सोही अवधिमा भने ०.२ प्रतिशतले घटेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours