११ चैत, काठमाडौँ । पछिल्लो समय विद्युतीय गाडी (इभी) को आयातमा उछाल कायमै छ । नेपाल राष्ट्र बैंकले फागुन १३ गते नीति परिवर्तन गरेको थियो । जसले गर्दा व्यवसायीहरू व्यवसाय नै धरापमा पर्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । तर, राष्ट्र बैंकले नीति परिवर्तन गरे पनि व्यवसायी हतोत्साहित नभएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १६ अर्ब ६४ करोड १३ लाख ७४ हजार रुपैयाँ बराबरको इभी आयात भएको तथ्यांक छ । चालु आवको फागुन मसान्तसम्म ७ हजार ८९ वटा इभी (कार, जिप, भ्यान) आयात भएको हो ।
चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ७४ करोड २० लाख ७४ हजार रुपैयाँ बराबरको इभी आयात भएको थियो । फागुनको १३ गते राष्ट्र बैंकले नीति परिवर्तन गरे पनि फागुन महिनामा मात्रै १ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ बराबरको इभी आयात भएको छ ।
व्यवसायीहरूले २–३ महिनाका लागि प्रिअर्डर गरिसकेकाले आयात नघटेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका आमन्त्रित सदस्य अनुप बराल बताउँछन् । राष्ट्र बैंकको नीतिले व्यापारमा कमी आइसकेको बताउँदै उनले भने, ‘अर्डर गरिसकेको गाडी आयात गर्नुपर्ने भएकाले आयात नघटेको जस्तो देखिएको हो । तर, व्यापार घटेको छ ।’
राष्ट्र बैंकले बिनाजानकारी नीति परिवर्तन गर्दा आफूहरू समस्यामा परेको उनले बताए । ‘हामीले गाडी अर्डर गरिसकेका छौँ । ३ महिनासम्मका लागि अर्डर भएको छ । तर व्यापार छैन,’ बरालले भने, ‘यसले हामीलाई मात्र होइन, समग्र अर्थतन्त्र नै प्रभावित हुने भएको छ ।’
उनले अहिले कमर्सियल गाडीको बिक्री प्रायः ठप्प रहेको बताए । ‘राष्ट्र बैंकको नीतिले २० प्रतिशत डाउन पेमेन्टमा कमर्सियल गाडी किन्थे । अब ४० प्रतिशत पैसा जम्मा गर्नुपर्छ । जसले ६-७ लाख डाउन पेमेन्ट गरेर गाडी किन्न नपाइने भयो ।’
उनले १ महिनामा बिक्री हुने गाडी बिकाउन अब ४ महिना लाग्ने बताए । सरकारले मनलाग्दी नीति परिवर्तन गर्दा व्यापारी हतोत्साहित हुने गरेको उनको भनाइ छ ।
यता, राष्ट्र बैंकको नयाँ नीतिको प्रभावले विद्युतीय गाडीको प्रयोगमा बिस्तारै कमी आउने बिवाइडीको अधिकृत विक्रेता साइमेक्स इन्ककी प्रबन्ध सञ्चालक यमुना श्रेष्ठ बताउँछिन् । उनले राष्ट्र बैंकले अस्थिर नीति बनाउँदा व्यवसायीहरू समस्यामा परेको र यसको असर २–३ महिनादेखि देखिन सुरु हुने बताइन् ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामा व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालु रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरेको थियो । अर्थात विद्युतीय सवारीसाधन खरिद गर्दा मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरे हुनेमा ४० प्रतिशत पुर्याइएकाे हो ।
नेपालले चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट इभी आयात गर्दै आएको छ । विभागका अनुसार अधिकांश इभी चाइनाबाट आयात भएको छ । चाइनाबाट १३ अर्ब ९ करोड रुपैयाँ बराबरको ५ हजार २७८ वटा इभी आयात भएको छ ।
त्यसैगरी, भारतबाट ३ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ बराबरको १ हजार ७७५ वटा इभी आयात हुँदा जर्मनीबाट १९ करोड ३ लाख रुपैयाँ बराबरको २७ वटा, अमेरिकाबाट २ करोड १३ लाख रुपैयाँ बराबरको ५ वटा, दक्षिण कोरियाबाट २ करोड ३ लाख रुपैयाँ बराबरको ३ वटा र इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँ बराबरको एउटा इभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार इभी आयातबाट फागुन मसान्तसम्म १० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
फागुनमा कति आए इभी ?
चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १६ अर्ब ६४ करोड १३ लाख ७४ हजार रुपैयाँ बराबरको इभी आयात भएको छ । साउनदेखि फागुनसम्म सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्मका गाडी आयात भएका छन् ।
५१ देखि १ सय किलोवाट क्षमताका ९ अर्ब ६९ करोड २२ लाख ३४ हजार रुपैयाँ बराबरका ३ हजार ८ सय ७९ युनिट गाडी भित्रिएको विभागले जनाएको छ । यसबाट सरकारले ६ अर्ब १४ करोड रुपैयाँ राजस्व उठाएको छ ।
यसैगरी, ४ अर्ब ५५ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरका ५० किलोवाटसम्म क्षमताका २ हजार ५ सय ३१ इभी नेपाल भित्रिएका छन् । ५० किलोवाटसम्मका गाडीबाट सरकारले १ अर्ब ९७ करोड २ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेकाे छ ।
यस्तै, ५१ देखि १०० किलोवाटसम्मका ९ अर्ब ६९ करोड २२ लाख ३४ हजार रुपैयाँ बराबरको ३ हजार ८७९ युनिट भित्रिएका छन् भने १०१ देखि २०० किलोवाट क्षमतासम्मका ६५४ युनिट भित्रिएका छन् । जसबापत २ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बाहिरिएको छ । जसबाट सरकारले १ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी १०० देखि ३०० किलोवाटसम्मका ९ करोड ८९ लाख रुपैयाँ बराबरका १४ युनिट गाडी नेपाल भित्रिएका छन् । ३०० किलोवाटमाथिका २ युनिटमात्र गाडी भित्रिएका छन् । जसबापत ८३ लाख २३ हजार रुपैयाँ बाहिरिएको छ ।
यस्तो छ मागसम्मको आयातको विवरण
नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन – माघ) मा करिब १५ अर्ब रुपैयाँ बराबरकाे इभी आयात गरेको थियो । विभागका अनुसार माघ मसान्तसम्म नेपालले १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २५६ युनिट इभी आयात गरेको हो ।
नेपालले माघसम्म इभी आयात गरेबापत ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । माघसम्ममा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका इभी भित्रिएका थिए । ५१ देखि १०० किलोवाटका ३ हजार ४९१ वटा इभी भित्रिएका हुन् ।
त्यसैगरी, ५० किलोवाटसम्मका २ हजार १५९ वटा इभी गाडी भित्रिएका थिए भने १०१ देखि २०० किलोवाटका ५९० वटा गाडी भित्रिएका थिए । २०१ देखि ३०० किलोवाटका ११ र ३०० किलोवाटभन्दा धेरै क्षमता भएका २ वटा इभी नेपाल भित्रिएकाे विभागको तथ्यांकले देखाएको छ ।
+ There are no comments
Add yours