११ चैत, काठमाडौँ । सिरहाको लहानमा सातामा २ पटक लाग्ने हाटबजारलाई व्यवस्थित गदै आधुनिक तरकारी बजार सञ्चालन गरिने छ । नगर प्रमुख महेशप्रसाद चौधरीले २ करोडभन्दा माथि लागतमा बन्ने पक्की संरचनाको शिलान्यास गरेका छन् ।
जनसंख्या र व्यापार व्यवसायका हिसाबले वीरगन्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठुलो बजार हो । ‘यो ठाउँमा पहिलेदेखि नै अव्यवस्थित रूपमा हाट बजार चलिरहेकै थियो । यसलाई व्यवस्थित बनाउन लागेका छौँ,’ चौधरीले भने ।
नगर प्रमुख चौधरीका अनुसार ३ वटा ब्लकमा ८४ वटा सटरसहित २ तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुने गरी स्टल उपलब्ध गराइने उनले बताए । २०८३ असार २० गतेसम्म सम्पन्न गर्ने गरी निर्माणको ठेक्का सम्झौता भएको छ ।
लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आए पनि यस पटक भने काम सुरु भएको छ । करिब ५ बिघा क्षेत्रफलमा यहाँ हटिया लाग्दै आएको छ ।
हप्तामा २ दिन (सोमबार र शुक्रबार) लाग्ने हटियामा पचासौँ हजार मानिस आउने गर्छन् । यस्तो व्यस्त हाटबजारलाई नगरपालिकाले व्यवस्थित संरचना बनाइदिने कार्यले लहानका तरकारी व्यवसायीलाई उत्साहित बनाउने काम गरेको लहानका हाटबजार समितिका अध्यक्ष राजकुमार शाहले बताए ।
बढ्दो जनसंख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटो छेकेर तरकारी बजार सञ्चालन हुने गरेको थियो । आधुनिक बजारमा सेवा सुरु भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् ।
तरकारी बजार सञ्चालनमा आएपछि किसानको उत्पादन खेर नजाने तथा उपभोक्तालाई पनि ताजा तरकारी उपलब्ध हुने भएपछि किसानसँगै उपभोक्तामा पनि उत्साह छाएको छ ।
+ There are no comments
Add yours